भोटेकोशी बाढीमा ३३८ ट्रक र कन्टेनर बेपत्ता

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ३३८ ट्रक तथा कन्टेनर बेपत्ता भएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको प्रारम्भिक विवरण अनुसार बाढीमा परी ३३८ ट्रक र कन्टेनर हराएका हुन् ।

ती सवारी साधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएको संघको विवरण छ । बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती लगायत स्थानबाट सवारी साधन बगाएको थियो ।

अहिले पनि विवरण संकलन भइरहेकाले बेपत्ता सवारी तथा चालक, सहचालको संख्या बढ्न सक्ने महासंघले जनाएको छ । यातायात व्यवस्था विभागले बाढीबाट भएको क्षति सम्बन्धी तथ्यांक उपलब्ध गराउन आह्वान गरेको थियो । सोही अनुसार महासंघले आफू मातहतका संघ तथा समितिबाट विवरण संकलन गरी विभागलाई बुझाएको हो ।

महासंघको विवरण अनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि लोकन्थलीका सबैभन्दा धेरै २१७ वटा ट्रक/कन्टेनर र २५१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् ।

त्यस्तै, नारायणी यातायात व्यवसायी संघ हेटौँडाका ५८ वटा ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ सिमराका २१ वटा ट्रक र ३५ जना, गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ वटा ट्रक/कन्टेनर र ३४ जना, ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० वटा कन्टेनर र २० जना, पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघको विवरणमा उल्लेख छ ।


Back_to_top