काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले झण्डै १८ महिना अगाडि ३ भेरियन्टमा क्रेटा ईभी नेपाल ल्याएको थियो । पछि ठूलो ब्याट्री र मोटरमा पनि क्रेटा ईभी ल्याए पनि अहिले एउटा मात्रै भेरियन्ट बिक्री गर्दै आएको हो ।
अहिले बिक्री भइरहेको भेरियन्ट पनि विल्कुलै नयाँ हो । यसअघि बजारमा ल्याएको सबै भेरियन्ट छाडेर ‘एजुकेटिभ टेक’ भेरियन्ट मात्रै उपलब्ध गराएको छ । यसको मूल्य ६० लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
चिनियाँ ईभीको बढ्दो प्रभावको बीचमा हुन्डाईले धेरै भेरियन्ट बिक्री नगरेर एउटा मात्रै भेरियन्ट ल्याएको छ । जसले क्रेटालाई रेगुलर इलेक्ट्रीक एसयूभीभन्दा महँगो बनाएको देखिन्छ ।
क्रेटा ईभी पर्फमेन्स, प्रविधि, आरामदायी र सुरक्षाको हिसाबले अब्बल मोडल रहेको हुन्डाईको दाबी छ । कम्पनीले यसमा ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिएको छ । ९९ किलोवाटको मोटरले यसमा पावर प्रदान गर्छ ।

केही फिचरले क्रेटा ईभीलाई चिनियाँ उत्पादनभन्दा भिन्न बनाउँछ । यसमा एडाससँग लिंक गरिएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ । प्याडल सिफ्टरको प्रयोग गरेर रिजेनेरेटिभ ब्रेकिङ सिस्टम तलमाथि गर्न सकिन्छ । १७ डिग्रीभन्दा बढीको ब्रेकओभर एंगल र २०० एमएमको ग्राउण्ड क्लियरेन्स यसको अर्को बलियो पक्ष हो ।
समग्रमा चिनियाँ प्रतिस्पर्धीभन्दा हल्का माथि देखिएको क्रेटा ईभीको प्रतिस्पर्धा बीवाइडी एटो थ्री एड्भान्स मोडलसँग भइरहेको छ । त्यसैले क्रेटा ईभीमा रहेका फिचरहरूका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
सानो ब्याट्री धेरै रेन्ज
क्रेटा ईभीमा ४२ किलोवाट आवरको एनसीएम ब्याट्री छ । उच्च ऊर्जा घनत्व भएको कारण सानो ब्याट्री भए पनि रेन्ज धेरै पाउन सकिन्छ । कम्पनीको दाबी अनुसार ४१५ किलोमिटर रेन्ज पाइन्छ । तर, नेपाली सडकमा गाडी चलाइरहेका धेरै उपभोक्ताका अनुसार ३२० देखि ३६० किलोमिटरसम्म चालक अनुसारको रेन्ज पाइरहेको बताएका छन् ।
सीसीएस टु चार्जिङ पोर्ट प्रयोग भएको क्रेटा ईभीले ११ किलोवाटसम्मको एसी र ५० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।
सुरक्षा फिचरमा अब्बल
हुन्डाईले क्रेटा ईभीमा ७५ बढी सुरक्षा फिचर उपलब्ध गराएको छ । कम्पनीका अनुसार क्रेटा ईभीमा ६ एयरब्याग, चार वटै चक्कामा डिस्क ब्रेक, ईबीडी सहितको एबीएस, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी मेनेजमेन्ट, हिल स्टार्ट र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर समावेस छन् ।
यी फिचरका अलावा टायर प्रेसर मोनिटरिङ सिस्टम, सिटबेल्ट रिमाइण्डर, आइएसओ फिक्स चाइल्ड सिट, इमर्जेन्सी स्टप सिग्नल, इम्प्याक्ट सेन्सिङ डोर लक/अनलक, रियर भ्यू क्यामेरा, ३६० डिग्री क्यामेरा लगायतका फिचर छन् ।
डिजाइनमा ‘पिक्सेलेटेड’ टच
हुन्डाइले क्रेटा ईभीमा पनि आयोनिक फाइभकै जस्तो पिक्सलेटेड ग्राफिक ग्रिल प्रयोग गरेको छ । यो अगाडि र पछाडि नै पाउन सकिन्छ । यसमा क्वाड बीम एलईडी हेडल्याम्प, होरिजन एलईडी पोजिसिनिङ लाइट लगायतका सम्पूर्ण लाइटिङ सिस्टम एलईडी प्रयोग भएको छ ।

क्रेटा ईभीमा १७ इन्चको एरो अलोय ह्वील, लो रोलिङ रेसिस्टेन्स टायर प्रयोग भएको छ । चार्जिङ पोर्टमा पनि मल्टी कलर सराउण्ड लाइट सहित स्टेट अफ चार्जिङ इन्डिकेटर र एक्टिभ एयर फ्ल्याप उपलब्ध छ ।
दुई स्क्रीन एकसाथ
हुन्डाईले क्रेटा ईभीमा १०.२५ इन्चको दुई स्क्रीन जोडेर प्रयोग गरेको छ । जसमा एउटा इन्फोटेन्टमेन्ट सिस्टम र अर्को इन्फर्मेसन डिस्प्ले हो । वायरले एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने एसयूभीमा भ्वाइस रिकग्नेसन, हुन्डाई ब्लू लिंक र ओभर दी एयर म्याप पाउन सकिन्छ ।
यसको ड्यासबोर्ड पनि दुई कलरमा सजिएको छ । सिटहरू पनि इको फ्रेण्डली सामग्रीबाट तयार पारिएको हो ।
पानारोमिक सनरुफदेखि भीटुएलसम्म
बहुउपयोगी साधन बनाउने रणनीति हुन्डाईले क्रेटा ईभीमा लगाएको छ । कम्पनीका अनुसार यसमा भ्वाइस इनेबल स्मार्ट पानारोमिक सनरुफ, सिफ्ट वाइ वायर कोलुम टाइप, भेहिकल टु लोड र २६८ प्रकारको भ्वाइस कमाण्ड दिन मिल्ने प्रविधि छ । त्यसले क्रेटा ईभीलाई कनेक्टेड ड्राइभिङ अनुभव दिने एसयूभी भनिन्छ ।

चालक र यात्रुको सुविधालाई ध्यानमा राखेर एसयूभीमा भेन्टिलेटेड सिट, ड्युल जोन एसी, आर्म रेस्ट, कुल्ड स्टोरेज, २२ लिटरको फ्रन्ट फ्रङ्क र फुल साइज स्पेयर टायर दिइएको छ ।
सबैभन्दा बलियो सर्भिस
क्रेटा ईभी ढुक्कले प्रयोग गर्न सकिने मोडलमा पर्छ । नेपालमा सन् २०१८ देखि नै ईभी बिक्री गर्दै आएको हुन्डाईसँग दक्ष जनशक्तिको कमी छैन । भारतमै उत्पादन हुने भएको कारण यसको पार्ट्स उपलब्धता पनि राम्रो छ ।
देशभर फैलिएको सर्भिस नेटवर्क, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी जस्ता कुराले पनि क्रेटामा उपभोक्ता ढुक्क हुन सक्ने अवस्था देखिन्छ ।

