काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारीको चाप बढेपछि नयाँ व्यवस्था गरेको छ । प्रशासनले शुक्रबार दिउँसो सूचना गर्दै समय सीमा तोक्दै ठूला मालवाहक सवारी संचालनमा रोक लगाएको हो ।
प्रशासनका अनुसार पृथ्वी राजमार्गमा ग्यास र इनधनका बाहेक १० चक्काभन्दा लामा र १५ टन बढी लोड भएका सवारी गुड्न रोक लगाइएको छ । त्यस्तै, यात्रुवाहक सवारीको हकमा ११ मिटरभन्दा कम लम्बाइका सवारी मात्र चलाउन पाइने छ ।
प्रशासनले काठमाडौंबाट हेटौंडा जाने र हेटौंडाबाट काठमाडौं आउँदा प्रवेश गरिसक्नु पर्ने समय सीमा पनि तोकेको छ ।
प्रशासनका अनुसार त्रिभुवन राजपथ हुँदै काठमाडौंबाट हेटौंडा जाँदा आज साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्ने छ । त्यस्तै, शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजे र आइतबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्ने छ ।
हेटौंडा हुँदै काठमाडौं आउने सवारी आज बिहान १० बजेदेखि २ बजेसम्म चौकी टोलाबाट प्रवेश गरिसक्नु पर्ने छ । शनिबार बिहान ४ बजेदेखि बिहान ८ बजेसम्म र राति ११ बजेदेखि बिहान २ बजेसम्म चौकी टोलाबाट प्रवेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।
अविरल वर्षाका कारण काठमाडौं आउने अरु सबै सडक बन्द भएका छ । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ लगायत मुख्य सडक बन्द भएका छन् ।


