काठमाडौं । निकै ठूलो चुनौती झेल्दै अन्तत: जेटोर टी-२ नेपाल आइपुगेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटरहबले जेटोर टी-२ नेपाल ल्याएको हो ।
यो एसयूभी गत साउनमै नेपाल आइपुग्ने बताइए पनि ढिलाइ भएको थियो । कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा स्टल बुकिङ गरेर पनि आइनपुग्दा जेटोर टी-२ प्रदर्शनीमा राख्न सकेको थिएन । भन्सार प्रक्रिया पूरा गरेर आउन नभ्याएको उक्त एसयूभी नाडा अटो शोमा पनि प्रदर्शनी गर्ने योजना बनाए पनि सफल भएको थिएन ।
भोटोकोसीमा आएको भदौ १० गतेको बाढीले भन्सार यार्डमा आइपुगेको सबै गाडी बगाएर लगेको थियो । त्यसपछि पुनः प्रक्रिया थालेर कोरोला नाका हुँदै बल्ल जेटोर टी २ नेपाल प्रवेश गरेको हो । अहिले यो एसयूभी काठमाडौं नै आइपुगेको छ ।
शक्तिशाली डिजाइन, अफरोड क्षमता र अत्याधुनिक प्रविधिको संयोजन भएको जेटोर टी-२ विश्वका धेरै बजारमा लोकप्रिय बनिसकेको छ । नेपालमा पनि हाम्रो सडक र भौगोलिक अवस्था अनुसार यो उपयोगी मोडल बन्न सक्ने देखिन्छ ।

जेटोर टी-२ को लम्बाइ ४७८५ एमएम, चौडाइ २००६ एमएम र उचाइ १८७५ एमएम छ । २८०० एमएम लामो ह्वीलबेस र ५८० लिटर क्षमताको बुट स्पेसले यसलाई पारिवारिक यात्रा र लामो दूरीका लागि उपयोगी बनाएको छ ।
जेटोर टी-२ हाइब्रिड मोडलको रूपमा नेपालमा उपलब्ध हुनेछ । यसमा अलह्वील ड्राइभ सिस्टम रहेको छ । अफरोड क्षमताले भरिपूर्ण एसयूभीमा ठूलो ग्लासहाउस, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा र ‘सी-थ्रु’ भ्यु प्रणालीका कारण पार्किङदेखि अफरोड ड्राइभिङसम्म चालकलाई सहज अनुभव प्रदान गर्छ ।
सुरक्षाका हिसाबले पनि टी-२ निकै सशक्त देखिन्छ। यसमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन किप असिस्ट, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्याग जस्ता आधुनिक सुरक्षा प्रणाली समावेश छन् ।
बाहिरी डिजाइनमा सबै एलईडी लाइट, २० इन्चका अलोय ह्वील, बक्सी र मस्कुलर स्टाइलिङ, पानोरामिक ग्लास रूफ, पावर फोल्डिङ डोर मिरर तथा कनेक्टेड एलईडी टेललाइटले टी-२ लाई अझ आकर्षक बनाएको छ ।
इन्टेरियर पनि प्रिमियम स्तरको छ। आधुनिक ड्यासबोर्डमा १५.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२ स्पिकर अडियो सिस्टम दिइएको छ, जसले क्याबिनलाई थियटरजस्तै अनुभव प्रदान गर्छ ।
यसका अतिरिक्त वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, डुअल जोन क्लाइमेट कन्ट्रोल, मेमोरी फङ्सनसहितका विद्युतीय रूपमा समायोजन हुने अगाडिका सिट, हिटेड तथा भेन्टिलेटेड सिट लगायतका प्रिमियम सुविधाले टी-२ लाई आफ्नो वर्गमा प्रतिस्पर्धी बनाएको छ ।
नेपालमा यसको मूल्य र आधिकारिक स्पेसिफिकेसन सार्वजनिक हुन बाँकी भए पनि डिजाइन, प्रविधि, सुरक्षा र अफरोड क्षमताको संयोजनका आधारमा जेटोर टी-२ नेपाली बजारको प्रिमियम एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बन्ने संकेत देखिएको छ ।

