बीवाइडी एटो वानमा भयो ठूलो परिवर्तन, ड्राइभट्रेन पनि बदलियो

काठमाडौं । बीवाइडीको चर्चित इलेक्ट्रीक ह्याचब्याक सिगल (नेपालमा एटो वान)को सेकेण्ड जेनेरेसन व्यापक परिवर्तन भएर आउने भएको छ ।

बीवाइडीले सेकेण्ड जेन एटो वानलाई ठूलो साइज, ठूलो मोटर, रियर ह्वील ड्राइभ, नयाँ च्यासिस र इन्टेरियरमा व्यापक परिवर्तन गरेर ल्याउने भएको हो ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा गरिएको नियामकीय दर्तापछि सेकेण्ड जेन सिगलकाे नयाँ विवरण सार्वजनिक भएको चिनियाँ संचारमाध्यम अटोहोमले जनाएको छ । यसअघि नै नयाँ मोडलको बाहिरी डिजाइन र क्याबिन सम्बन्धी केही विवरण सार्वजनिक भइसकेका थिए।

अटो होमका अनुसार नयाँ एटो वानको सबैभन्दा ठूलो परिवर्तन यसको ड्राइभट्रेनमा देखिएको छ । हालको मोडलमा रहेको फ्रन्ट ह्वील ड्राइभ प्रणालीलाई विस्थापित गर्दै नयाँ सिगलमा रियर ह्वील ड्राइभ सिस्टम दिइएको छ । यसको मोटर अगाडिबाट पछाडिको एक्सलमा सारिएको छ । जसकारण अगाडिको बोनटमुनि फ्रंक बनेको छ।

नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड१६४एक्सवाईबी’ मोटर प्रयोग गरिएको छ । यसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ।

नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग हुनेछ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १५० किमी रहेको छ ।

नयाँ एटो वानको च्यासिसमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। पुरानो मोडलमा प्रयोग भएको पछाडिको टोर्सन बीम सस्पेन्सन हटाएर नयाँ पुस्तामा स्वतन्त्र मल्टी–लिंक सस्पेन्सन प्रयोग गरिएको छ । साथै, पहिलेको १६५/१७५ मिमी टायरको सट्टा नयाँ १६ इन्चको एलोय ह्वीलमा फराकिलो २०५/६० आर१६ टायर प्रयोग गरिएको छ।

नयाँ मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्याश चार्जिङ प्रविधि हुनसक्ने अनुमान गरिए पनि कम्पनीले चार्जिङबारे आधिकारिक पुष्टि गर्न बाँकी छ।

नयाँ एटो वानको इन्टेरियरमा पनि व्यापक परिवर्तन गरिएको छ। यसमा फ्ल्याट बटम डिजाइन भएको टु स्पोक मल्टिफङ्क्सन स्टेयरिङ ह्विल राखिएको छ । साथै, परम्परागत इन्स्ट्रुमेन्ट क्लस्टर हटाएर फ्लोटिङ सेन्ट्रल टचस्क्रीनमा केन्द्रित ड्यासबोर्ड डिजाइन गरिएको छ। सेन्टर कन्सोलमा एयर भेन्टको तल भौतिक टगल स्विच, वायरलेस फोन चार्जर र ठाडो रूपमा राखिएका दुई कप होल्डर दिइएका छन्।

बाहिरी भागमा पनि नयाँ डिजाइनका ढोका ह्याण्डल प्रयोग गरिएको छ। पछाडि ठूलो रूफ स्पोइलरको तल स्प्लिट टेललाइट र तल्लो भागमा एकीकृत डिफ्युजर राखिएको छ ।

चीनमा परीक्षणका क्रममा देखिएका नयाँ सिगलका केही प्रोटोटाइपमा छतमा लिडार जडान गरिएको देखिएको छ। यो प्रणाली बीवाईडीको डाइपाइलट ३०० (गड्स आई बी) लेभल-२ ड्राइभिङ एसिस्टेन्स प्रणालीसँग सम्बन्धित छ।

यसले नयाँ सिगलको उच्च भेरियन्टमा थप उन्नत चालक सहायता प्रविधि उपलब्ध हुन सक्ने संकेत गरेको छ। यद्यपि, बीवाइडीले सबै भेरियन्टमा उपलब्ध हुने प्रविधि र यसको विस्तृत स्पेसिफिकेसनबारे पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन।

दोस्रो पुस्ताको सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ हालकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो ।


Back_to_top