काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन-भदौ)मा झण्डै ६७ हजार युनिट दुईपाँग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) नेपाल भित्रिएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको भदौसम्मको व्यापार तथ्यांक अनुसार ६६ हजार ८४० युनिट दुईपाँग्रे सवारी आयात भएको हो ।
विभागका अनुसार दुई महिनामा कुल ९ अर्ब ७२ रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर (मोपेड बाहेक) आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो । चालु आवमा दुईपाँग्रे सवारी आयातबाट सरकारले ८ अर्ब ६१ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
चालु आवमा आयात भएका दुईपाँग्रे सवारीमध्ये १४.४७ प्रतिशत विद्युतीय रहेका छन् । झण्डै ६८ हजार दुईपाँग्रे आयात हुँदा ९ हजार ९६२ युनिट विद्युतीय रहेका छन् । जसमा ७५ युनिट मोटरसाइकल र ९ हजार ८८७ इलेक्ट्रीक स्कुटर रहेका छन् । पछिल्लो समय बजारमा विद्युतीय स्कुटरको माग बढेसँगै आयात पनि बढेको हो ।
विभागका अनुसार चालु आवको २ महिनामा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८० प्रतिशत बढी अनएसेम्बल रहेका छन् । हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल÷स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।

