काठमाडौं । हिरो मोटोकर्पले आफ्नो प्रिमियम मोटरसाइकल तथा स्कुटर लाइनअप विस्तार गर्ने तयारीलाई तीव्र बनाएको छ । कम्पनीले स्प्लेण्डरमा मात्र निर्भर ब्राण्डको छवि परिवर्तन गर्दै प्रिमियम सेग्मेन्टमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति बनाएको हो ।
कम्पनीले यस योजना अन्तर्गत ठूलो क्षमताको एक्सपल्स ४२० देखि कम क्षमताको र तुलनात्मक रूपमा सस्तो एड्भेन्चर मोडलसमेत ल्याउने तयारी गरिरहेको हो ।
एक्सपल्स ४२० धेरै पटक परीक्षणका क्रममा देखिसकेको छ । त्यस्तै, हालै हिरोको नयाँ सानो एड्भेन्चर मोटरसाइकल पनि कारखाना परिसरमा देखिएको भारतीय मिडियाले जनाएका छन् । यो मोटरसाइकल एक्सपल्स २०० भन्दा तलको सेग्मेन्टमा राखिने र सम्भावित रूपमा १६० सीसी इन्जिनमा आउने अनुमान गरिएको छ ।
हालै सार्वजनिक भएको तस्बिरमा देखिएको मोटरसाइकल उत्पादनका लागि लगभग तयार अवस्थामा रहेको देखिन्छ । मोटरसाइकलमा कुनै क्यामोफ्लाज छैन र यसको रङ ओरेन्ज वा रेड मध्ये कुनै एक हुन सक्ने बताइएको छ ।
मोटरसाइकलमा अपस्वेप्ट एग्जस्ट, डुअल पर्पस टायर र ठूलो रियर लगेज र्याक देखिन्छ । डिजाइन पेटेन्टसँग तुलना गर्दा यो नयाँ मोटरसाइकलको डिजाइन पहिले सार्वजनिक भएका पेटेन्ट र गत वर्ष देखिएको परीक्षण मोडलसँग मिल्दोजुल्दो देखिन्छ ।
साथै, मोटरसाइकलमा अग्लो फ्युल ट्यांक, ट्यांक श्राउड, अगाडि बेक, ठूलो साइड बडी प्यानल र सिंगल पिस स्कुप्ड सिट हुने अनुमान गरिएको छ । पेटेन्टमा एलईडी प्रोजेक्टर हेडलाइट र अगाडिको सस्पेन्सनमा फोर्क गेटर पनि देखाइएको थियो । यसमा हालका एक्सपल्स मोडलजस्तै २१ इन्च अगाडिको र १८ इन्च पछाडिको पाँग्रा प्रयोग हुन सक्ने सम्भावना छ ।
यसमा हिरो एक्सट्रीम १६० आरमा प्रयोग भएको जस्तै आयल कुल्ड इन्जिन प्रयोग हुन सक्ने सम्भावना रहेको छ ।
यसका अलावा एक्सपल्स १६० मा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, एलईडी लाइट सेटअप, ट्रयाक्सन कन्ट्रोल, अफरोडमैत्री सस्पेन्सन र टायर, डिस्क ब्रेक, डुअल च्यानल एबीएस लगायतका सुविधाहरू समावेश हुन सक्ने अनुमान गरिएको छ ।
यदि हिरोले यसलाई कम बजेटमा उपलब्ध गरायो भने सस्तो एड्भेन्चर तथा अफ रोड मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गर्ने मोडल बन्न सक्ने देखिन्छ ।

