एउटै नाम, पाँच फरक कार : नेपालमा पनि पाइन्छ किन्न

काठमाडौं । एउटै नाममा बिक्री हुने कार देश अनुसार फरक डिजाइनमा बिक्री हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, तपाईं हामी सबैको मुखमै झुण्डिएको कारको नाम नै त्यो मोडल हो भन्दा त्यसको बारेमा जान्न उत्सुकता जाग्छ होला ।

जापानी ब्राण्ड सुजुकीको चर्चित अल्टो हाम्रो वरिपरी धेरै गुडेको देख्छौं । अल्टो भन्ने बित्तिकै हामी मध्ये धेरैको दिमागमा सानो साइजको, कम मूल्य पर्ने र सहरमा चलाउन सजिलो ह्याचब्याक कार भन्ने कुरा आउँछ नै ।

यही कार विश्व बजारमा सुजुकी अल्टो नामाबाटै बिक्री हुन्छ । तर, त्यसको डिजाइन भने बिक्री हुने देशको क्लस्टर अनुसार फरक हुन्छ । सुजुकीले जापानदेखि दक्षिण एसियासम्म एउटै नाममा पाँच फरक डिजाइनमा अल्टो बिक्री गर्दै आएको छ ।

डिजाइन, इन्जिन, आकार र प्रविधिमा समेत फरक भए पनि एउटै नाम दिएर बिक्री गर्दा अल्टोले सुजुकीको बजार रणनीतिलाई रोचक बनाएको देखिन्छ । सन् १९७९ मा पहिलो पटक बजारमा आएको अल्टो सुजुकीको सबैभन्दा सस्तो र लोकप्रिय सहर केन्द्रित कारमध्ये एक हो ।


विश्वका धेरै अटो निर्माता एउटै मोडललाई विभिन्न देशमा बिक्री गर्ने रणनीति अघि बढाइरहेका बेला सुजुकीले भने बजारको आवश्यकता, सुरक्षा मापदण्ड र स्थानीय उत्पादनलाई ध्यान दिँदै अल्टोका फरक संस्करण तयार पारेको हो ।

जापानमा उपलब्ध अल्टो

जापानमा सुजुकीको नवौं पुस्ताको अल्टो बिक्री गर्दै आएको छ । सन् २०२१ मा सार्वजनिक भएको यसलाई सन् २०२५ मा सामान्य फेसलिफ्ट गरिएको थियो ।

जापानमा बिक्री हुने अल्टो ३३९५ एमएम लामो छ । कम्पनीले यसलाई जापानमा ‘केई कार मापदण्ड’ अनुसार तयार पारेको हो । यसमा ६५८ सीसीको तीन सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले ४८ हर्सपावर उत्पादन गर्छ । उच्च भेरियन्टमा माइल्ड हाइब्रिड प्रविधि समेत पाउन सकिन्छ ।
जापानमै अल्टोको अर्को संस्करण अल्टो ल्यापिन पनि बिक्री हुन्छ । सन् २०१५ मा तेस्रो पुस्तामा आएको ल्यापिनलाई सन् २०२२ मा अपडेट गरिएको थियो । यसको ल्यापिन एलसी संस्करणमा भने फरक डिजाइन र रेट्रो शैली दिइएको छ । सामान्य अल्टोभन्दा महँगो भए पनि यसको आकर्षक डिजाइनले फरक ग्राहकलाई लक्षित गर्छ ।

भारत र नेपाल बिक्री हुने अल्टो

मारुती सुजुकी इण्डियाले उत्पादन गर्ने अल्टो के-१० नेपालमा पनि बिक्री हुँदै आएको छ । यसको डिजाइन जापानमा बिक्री हुने अल्टोभन्दा भिन्नै छ ।

अल्टो के-१० सन् २०२२ पहिलो पटक भारतमा सार्वजनिक भएको थियो । यसको लम्बाइ ३५३० एमएम छ । यसमा ९९८ सीसीको तीन सिलिण्डर पेट्रोल इन्जिन छ । उक्त इन्जिनले ६८ हर्सपावर प्रदान गर्छ । भारतमा उत्पादन हुने अल्टो नेपाल, ल्याटिन अमेरिका, अफ्रिका र अन्य दक्षिणपूर्वी एसियाली बजारमा बिक्री हुँदै आएको छ ।

अझै बिक्रीमा पुरानो अल्टो-८००

भारतमा उत्पादन बन्द भइसकेको अल्टो-८०० पनि केही निर्यात बजारमा अहिले पनि बिक्री हुँदै आएको छ । सन् २०१२ देखि २०२३ सम्म उत्पादन भएको अल्टो ८०० नेपालमा ट्याक्सीको रूपमा व्यापक प्रयोग हुँदै आएको छ ।

यसमा ७९६ सीसीको पेट्रोल इन्जिन छ । जसले ४७ हर्सपावर उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल गियरबक्स पाउन सकिन्छ ।

पाकिस्तानमा छुट्टै अल्टो

पाकिस्तानमा ‘पाक सुजुकी’ले सन् २०१९ देखि फरक अल्टो उत्पादन गर्दै आएको छ । यो जापानको अघिल्लो पुस्ताको केई कारमा आधारित भए पनि यसको डिजाइन स्पोर्टी बनाइएको छ । यसमा ६५८ सीसीको इन्जिन उपलब्ध छ । जसले ३९ हर्सपावर उत्पादन गर्छ । पाँच स्पीड म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प रहेको यो कार अन्य बजारमा समेत निर्यात हुन्छ ।


किन एउटै नाममा पाँच फरक कार ?

सुजुकीले अल्टोका फरक संस्करण उत्पादन गर्नुको मुख्य कारण बजार अनुसारको आवश्यकता भनेको छ । जापानको केई कार मापदण्ड, भारतको बजेट कार बजार, पाकिस्तानको स्थानीय उत्पादन र अन्य उदीयमान बजारको मूल्य संवेदनशीलताले फरक उत्पादन रणनीति अपनाएको कम्पनीको भनाइ छ ।

यसले सुजुकीका लागि एउटै नामलाई विभिन्न बजारमा बेच्ने अवसर पनि दिएको छ । अल्टोले विश्वव्यापी कार बजारमा नयाँ कुरा कायम गरेको छ । ब्राण्ड एउटै भए पनि उत्पादन रणनीति भने देश अनुसार फरक हुन सक्छ ।


Back_to_top