काठमाडौं । दशैं, तिहार जस्ता चाडवाडको बेला काठमाडौं उपत्यकाबाट बारिने यात्रुमध्ये करिब ४३ प्रतिशत माइक्रोबसले बोक्ने गरेको पाइएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्साललाई बुझाएको ‘२०८३ दशैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन’ सम्बन्धी प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।
प्रतिवेदन अनुसार प्रतिवेदन अनुसार चाडवाडमा उपत्यकाबाट बाहिरिने यात्रु बस, माइक्रोबस, मिनिबस र अन्य सवारलिे बोक्ने गर्छन् । तीमध्ये ठूला बसले ४७.८ प्रतिशत, माइक्रोबसले ४२.९ प्रतिशत र मिनिबसले ९.२ प्रतिशत यात्रु बोक्ने अनुमान छ । यो नागढुंगा चेकप्वाइन्टमा गरिएको सर्वेक्षणको आधारमा आएको नतिजा हो ।
प्रतिवेदन अनुसार यस वर्ष दशैंमा ६ देखि १० लाखसम्म यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । ती यात्रु बोक्न अधिकतम ६५ हजार वटासम्म सवारीसाधन आवश्यक पर्ने अनुमान गरिएको छ ।
दशैंमा उपत्यकाबाट नागढुङ्गा चेकपोस्ट हुँदै बाहिरिने सवारीसाधनमध्ये सबैभन्दा धेरै २७ प्रतिशत यात्रु पोखरातर्फ हुन्छन् । यो सडक हुँदै तनहुँ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत लगायत जिल्लाका यात्रु बाहिरिन्छन् ।
नागढुंगा नाकाबाट बाहिरिने सवारीमध्ये ५५ प्रतिशत नारायणगढसम्म पुग्ने र त्यहाँबाट पूर्व र पश्चिम बाँडिने प्रतिवेदनमा उल्लेख छ ।
नागढुंगा हुँदै बाहिरिने सवारीको दोस्रो धेरै चाप नारयणगढ हुँदै पश्चिमतर्फ जाने सडकमा हुनेछ । बुटवल हुँदै पश्चिम नेपालका दाङ, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर, सुदूरपश्चिमका विभिनन् जिल्लाका सवारी जानछन् ।
त्यसैगरी, नारायणगढ हुँदै पूर्वतर्फ जाने सडक (वीरगञ्ज, बर्दिवास, जनकपुर, धरान, विराटनगर, सुनसरी, झापा लगायत)मा हुनेछ ।
सामान्यतया काठमाडौंबाट बाहिरिने सार्वजनिक यातायातको दुइटा उच्च चापको लहर हुने गरेको छ । बिहानी लहर ६ बजेदेखि ९ बजेसम्म र साँझको लहर ६ बजेदेखि ९ बजेसम्म रहने प्रतिवेदनमा उल्लेख छ ।
संसदीय समितिले हरेक वर्ष दशैंका बेला दोहोरिने सास्ती रोक्न सार्वजनिक यातायातमा प्रविधि प्रयोग, डिजिटल टिकट र चलान, सूचना प्रवाह गर्ने विश्वसनीय माध्यम विकास, नागरिक सचेतना, व्यवसाय संचालन तथा सेवा प्रवाहमा प्रत्यक्ष संलग्नलाई पर्याप्त तालिम दिने लगायत सुझाव दिएको छ ।

