महिन्द्राको ‘भिजन टी’ अल ह्वील ड्राइभ र हाइब्रिड पावरट्रेनमा आउन सक्ने

काठमाडौं । भारतीय अटोमोबाइल उत्पादन कमहिन्द्राको नयाँ एसयूभीको परीक्षण सुरु गरेको छ । कम्पनीले भारतीय सडकमा परीक्षण गरिरहेको स्पाइ तस्बिरहरू बाहिरिएको हो ।

कम्पनीले नयाँ एसयूभीको नाम खुलाएको छैन । तर, उक्त एसयूभी ‘भिजन टी’ कन्सेप्टको उत्पादन संस्करण मानिएको छ ।

यो नयाँ एसयूभी सन् २०२७ सम्ममा भारतमा आउने अपेक्षा गरिएको छ । महिन्द्राले नयाँ एसयूभीलाई थार रक्सभन्दा तलको लाइन अपमा राख्नेछ ।

कम्पनीले परीक्षणको क्रममा रहेको एसयूभीको विवरण सार्वजनिक नगरे पनि यसको डिजाइन, क्याबिन र सम्भावित पावरट्रेन विकल्पहरूका बारेमा केही संकेतहरू मिल्छन् ।

भिजन टी महिन्द्राको नयाँ एनयू आईक्यू प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ । कम्पनीले यसको इन्जिन वा ब्याट्रीसम्बन्धी विवरण पुष्टि गरेको छैन । यद्यपि, यो एसयूभी पेट्रोल–हाइब्रिड र प्योर इलेक्ट्रीक पावरट्रेन विकल्पमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

भिजन टीमा अल ह्वील ड्राइभमा उपलब्ध हुन सक्नेछ, जसले यसलाई सामान्य सहरी एसयूभीभन्दा बढी सक्षम बनाउनेछ। यसमा फ्रन्ट ह्वील ड्राइभ संस्करण पनि उपलब्ध हुने अपेक्षा गरिएको छ । यसको लन्च अगाडि हाइब्रिड प्रणाली, ब्याट्री क्षमता र विद्युतीय मोटरसम्बन्धी थप विवरण सार्वजनिक हुने सम्भावना छ ।

पछिल्लो टेस्ट म्युलमा नयाँ अलोय ह्वील डिजाइन देखिएको छ, जुन सम्भवतः ड्युअल टोन फिनिसमा छ। पछिल्लो ढोकाको ह्याण्डलहरू सी पिलरको नजिक ठाडो रूपमा राखिएको देखिन्छ। पछाडि टेल ल्याम्प, ठाडो विन्डस्क्रीन र माथि राखिएको स्टप ल्याम्प छ।

टेलगेटको देब्रेतिर ह्याण्डल देखिन्छ भने नम्बर प्लेट राख्ने ठाउँ पछाडिको बम्परमा हुन सक्छ । उत्पादन हुने एसयूभीले भिजन टी कन्सेप्टका केही ढाँचाहरू कायम राख्दै सामूहिक उत्पादनका लागि अझ व्यावहारिक डिजाइन अपनाउने अपेक्षा गरिएको छ।

परीक्षण गाडीले भिजन टीको इन्टेरियरको पनि झलक दिन्छ। यसमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फ्री स्ट्याण्डिङ टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र अटो डिमिङ इनसाइड रियर भ्यु मिरर रहेको देखिन्छ।

ए पिलरमा ग्रयाब ह्याण्डलहरू राखिएका छन् भने ड्यासबोर्ड र सेन्टर कन्सोलले नयाँ डिजाइन पाउने अपेक्षा गरिएको छ। भिजन टी कन्सेप्टमा ठाडो रूपमा राखिएको टचस्क्रीन र नयाँ थ्रीस्पोक स्टेयरिङ ह्वील थियो। यी सुविधाहरू उत्पादन मोडलमा राखिन्छन् वा राखिँदैनन् भन्ने खुलेको छैन् ।

कम्पनीले भिजन टीको आधिकारिक लन्च मिति घोषणा नगरे पनि यो एसयूभी सन् २०२७ मा आउने सम्भावना छ ।


Back_to_top