स्वीकृत भाडादरभन्दा सस्तोमा हवाई टिकट बेच्न एयरलाइन्सहरू सहमत

काठमाडौं । निजी वायुसेवा कम्पनीहरु सरकारले स्वीकृत गरेको भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग गरेको छलफलमा स्वीकृत भाडादरभन्दा महँगोमा टिकट नबेच्ने सहमति भएको हो ।

छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने तथा उक्त भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले वायुसेवा कम्पनीहरुसँग छलफल गर्न निर्देशन दिएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियता देखाएका थिए ।

२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार चाडपर्वका बेला हवाई भाडा बढाएको भन्ने गुनासो सम्बोधन गर्न उक्त निर्णयअनुसारको व्यवस्थालाई प्रभावकारी बनाउने गरी वायुसेवा कम्पनीसँग छलफल गरिएको हो ।

काठमाडौंबाट धनगढीको हवाई भाडादर २२ हजार रुपैयाँसम्म पुगेको भन्दै व्यापक जनगुनासो आइरहको छ । सामाजिक संजालमा भारत जानभन्दा धनगढी जाने भाडा महँगो भन्दै एयरलाइन्स कम्पनीहरूको आलोचना भइरहेको छ ।


Back_to_top