काठमाडौं । दशैं-तिहार नेपालमा नयाँ गाडी बिक्रीका लागि सबैभन्दा महत्वपूर्ण सिजन मानिन्छ । तर, यसवर्ष चीनसँगको व्यापारिक नाका ठप्प हुँदा कारको व्यापारमै संकट देखिएको छ ।
दशैं सुरू हुन दुई दिन मात्रै बाँकी रहँदा पनि चीनबाट गाडी आयात गर्ने सडक संजाल खुल्न सकेको छैन । त्यसैले गाडी बिक्रेता र खरिदकर्ता दुवै अन्योलमा छन् ।
चाडपर्वको आसपासमा तपाईं पनि ५० लाख आसपासको मूल्यमा कुनै एउटा एसयूभी किन्ने योजनामा हुनुहुन्छ भने बजारमा थुप्रै विकल्प पाउनु हुन्छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बढ्दो प्रतिस्पर्धाका कारण अहिले ग्राहकसँग मूल्य मात्रै होइन, ब्याट्री क्षमता, रेन्ज, मोटर पावर, सुरक्षा प्रविधि र सुविधा फिचरहरूको आधारमा एसयूभी छनोट गर्ने अवसर मिलिरहेको छ ।
यो मूल्य समूहमा एमजी एस-५, बीवाइडी एटो २, जेको जे-५ प्रो, नेभो क्यू-५, ओमोडा ई-५, ओरा-५ र आइकार भी-२३ जस्ता एकसे एक मोडल ग्राहकका लागि विकल्प बनेका छन् ।

एमजी एस-५ : पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजी एस-५ विकल्प धेरै उपलब्ध मोडल हो । यसलाई ग्राहकले ४४ लाखदेखि ५६ लाख रुपैयाँसम्मको भेरियन्ट छनोट गर्न पाउँछन् । यसको सर्वाधिक सफल भेरियन्ट भने ४९ किलोवाट आवर क्षमताको ब्याट्री भएको लक्जरी हो ।
लक्जरी भेरियन्टको मूल्य ५० लाख रुपैयाँ रहेको छ । एमजी एस-५ मा ९९ किलोवाटको मोटर, रियर ह्वील ड्राइभ सिस्टम, फाइभ-लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन, १२.८ इन्च टचस्क्रीन, वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले र चालकको लागि एडास फिचर दिएको छ ।

बीवाइडी एटो २ : ४५ लाखदेखि ५१ लाख रुपैयाँसम्मको मूल्य तिर्दा एटो-२ छान्न सकिन्छ । यसको ‘इसेन्सियल’ भेरियन्टको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ छ । यसमा ४५.१२ किलोवाट आवरको ब्याट्री छ । यसको प्रिमियम र सुपेरियर भेरियन्टमा ५१.१३ किलोवाट आवरको ब्याट्री छ । प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र सुपेरियरको ५१ लाख ९९ हजार तोकेर साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।
एटो २ मा १०० किलोवाट मोटर, २९० एनएम टर्क, १२.८ इन्चको घुमाउन मिल्ने टचस्क्रिनलगायतका सुविधा छन् । मूल्य, ब्राण्ड र प्रविधिको सन्तुलन खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प हो ।

जेको जे-५ प्रो : ५० लाखको बजेटमा केही नयाँ र फरक खोज्ने ग्राहकका लागि जेको जे-५ प्रो अर्को महत्वपूर्ण विकल्प हो । यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । एसपीजी अटोमोबाइलले हालै ल्याएको जे-५ प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री छ ।
जे-५ प्रोमा १५५ किलोवाट क्षमताको मोटर छ । यसले २८८ एनएम टर्क दिन्छ । १८५ एमएम ग्राउण्ड क्लियरेन्स, ४८० लिटर बुट, पानोरामिक सनरुफ, स्पेयर टायर र लेभल-२ एडास उपलब्ध छन् । त्यसैले डिजाइनसँगै एसयूभीको व्यवहारिकता र सुरक्षा खोज्नेका लागि यो बलियो विकल्प देखिन्छ ।

नेभो क्यू-५ : एमएडब्ल्यू वृद्धि मोटर्सले ल्याएको नेभो क्यू-५ पनि ५० लाख रुपैयाँ आसपासको नयाँ प्रतिस्पर्धी हो । यसको म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ छ । दुवैमा ५१.९ किलोवाट आवरको एलएफपी ब्याट्री र १२० किलोवाट मोटर प्रयोग गरिएको छ ।
यसमा १४.६ इन्चको ठूलो टचस्क्रीन, पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, एडास तथा भीटूएलजस्ता सुविधा छन् । २७३५ एमएम लामो ह्वीलबेस र ठूलो क्याबिनका कारण पारिवारिक प्रयोगलाई लक्षित ग्राहकका लागि पनि यो महत्वपूर्ण विकल्प हो ।

ओमोडा ई-५ : ओमोडा ई-५ प्रोको सुरूवाती मूल्य ५१ लाख ९९ हजार रुपैयाँ छ । यसमा ५०.७ किलोवाट आवरको ब्याट्री, ९९ किलोवाट मोटर दिईको छ । यस १८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । एसपीजी अटोमोबाइलले नै यसको बिक्री वितरण गर्दै आएको छ ।
५० लाखको बजेट खर्च गर्ने ग्राहकका लागि ई-५ कुपे डिजाइन, लक्जरी क्याबिन र फिचर लोडेड एसयूभीको रूपमा बजारमा उपलब्ध छ ।

ओरा-५ : ओरा-५ पनि नेपालमा दुई भेरियन्टमा किन्न पाइन्छ । भीजी इम्पेक्सले नेपालमा बिक्री गर्ने ओरा-५ मिड भेरियन्टको मूल्य ४८ लाख ४९ हजार र टप भेरियन्टको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ ।
यसमा ५८.३ किलोवाट आवरको एलएफपी ब्याट्री, १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले २६० एनएम टर्क प्रदान गर्छ । यसमा २०० एमएमको ग्राउण्ड क्लियरेन्ससँगै आधुनिक फिचरको लामो लिस्ट पाउन सकिन्छ ।

आइकार भी-२३ : अलि फरक डिजाइन र उच्च ग्राउण्ड क्लियरेन्स चाहने ग्राहकका लागि आइकार भी-२३ उत्कृष्ट विकल्प बन्न सक्छ । यसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ । यसमा ५९.९३ किलोवाट आवरको ब्याट्री, १०० किलोवाट मोटर छ । उक्त मोटरले १८० एनएम टर्क दिन्छ । यसमा २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण खराब बाटोमा पनि गाडी छुने डर हुँदैन ।
बिक्रेताहरूले ग्राहक आकर्षित गर्न फेस्टिभ अफरमा आकर्षक छुट समेत दिएका छन् । कुन कम्पनीको कारमा कति छुट पाइन्छ भन्ने थाहा पाउन तलको समाचार पढ्नुहोस् ।

