अब सवारी दर्ता र नामसारी गर्न यातायात कार्यालयमा उपस्थित हुनु नपर्ने

काठमाडौं । अब नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी गर्न सवारीधनी यायाताय व्यवस्था कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित व्यवस्था अनुसार सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने छ ।

संशोधित व्यवस्था अनुसार अब निजी र सार्वजनिक सवारी पहिलो पटक नामसारी गर्दा डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ । यसअघि डिलरले जाँच गराइसकेपछि पनि सेवाग्राहीले पुनः यातायात कार्यालयमै सवाररी साधन लगेर पुनः चेकजाँच गर्नुपर्ने बाध्यता थियो ।

त्यस्तै, खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ ।

त्यसैगरी, सवारीसाधनको बीमा गर्न वा बीमा नवीकरण गराउनका लागि समेत अब सवारीधनी आफैं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।

सवारी साधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी बिक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने भएको छ।

यातायात व्यवस्था विभागले भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाइएको सूचना जारी गरेपछि सवारी बिक्रेता, वितरक वा कम्पनीले उक्त प्रणालीसँग जोडिन मिल्ने आवश्यक पूर्वाधारको व्यवस्था गरी यातायात कार्यालयसँग प्राविधिक पहुँच माग गर्नुपर्नेछ । सम्बन्धित यातायात कार्यालयले एकद्वार पहुँचमार्फत खरिदकर्ताको बायोमेट्रिक विवरण लिन सकिने गरी सवारी बिक्रेता वा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने छ ।

उल्लेखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा पूर्वाधार विकास मन्त्रालयले गरेको छ ।


Back_to_top