काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकहरूलाई गुणस्तरीय खाना खुवाउने ठाउँमा मात्र गाडी रोक्न निर्देशन दिएको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुहरूका लागि ३ बुँदे निर्देशन दिएको हो ।
यात्रुहरूलाई खाजा, नास्ता र खाना खुवाउन रोकिने होटल तथा रेस्टुरेन्टहरूमा सरसफाइको कमी भएको, झिँगा भन्केका खानेकुरा बेचेको तथा अत्यधिक मूल्य लिएको व्यापक जनगुनासो आएपछि पूर्वाधार विकास मन्त्रालयमा बसेको सम्बन्धित निकायहरूको बैठकले यस्तो निर्णय गरेको विभागले जनाएको छ ।
विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारीका चालकहरूले सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने ठाउँहरू (सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएका) होटल तथा रेस्टुरेन्टहरूलाई उच्च प्राथमिकता दिई खाजा र खानाका लागि सवारी रोक्नुपर्नेछ।
त्यस्तै, न्यून गुणस्तरको खानाका कारण यात्रुहरू बिरामी भएको गुनासोप्रति सम्बन्धित निकायहरूको सूक्ष्म निगरानी रहेको विभागले जनाएको छ। यदि कुनै होटल वा रेस्टुरेन्टको खानाका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल संचालक दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने विभागले जनाएको छ ।
होटल तथा रेस्टुरेन्टमा गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सक्नेछन्। साथै, नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा यस अन्तर्गतका कार्यालयहरूमा सम्पर्क गरी जानकारी गराउन विभागले यात्रुमा अनुरोध गरेको छ ।

