काठमाडौं । रसुवाको स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । गत भदौ १० गते आएको बाढीले पक्की पुल बगाएसँगै उक्त स्थानमा अस्थायी रुपमा बेलिब्रिज निर्माण अघि बढाइएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो ।
पुल बगाएको स्थानमा नयाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माण सुरु भइसकेको छ । सो बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घण्टा काम भइरहेको जनाइएको छ ।
यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी-ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबल–सामग्री) उपलब्ध गराएको छ । सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ ।
यसैबिच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।

