काठमाडौं । अल्ट्रा लग्जरी कार निर्माता फेरारीले आफ्नो पहिलो इलेक्ट्रीक कार लुचेको मूल्य सार्वजनिक गरेको छ ।
कम्पनीले अमेरिकी बजारमा लुचे ईभीको सुरुआती मूल्य ५ लाख ६० हजार ८०० डलर (करिब ८ करोड ६४ लाख रुपैयाँ) तोकेर बिक्री सुरु गरिएको हो ।
यो मूल्य अनुमानभन्दा निकै सस्तो रहेको दाबी गरिएको छ । फेरारीले पहिलो पटक लुचे सार्वजनिक गर्दा यसको मूल्य करि ६ लाख ४० हजार डलर हाराहारी हुने अनुमान गरिएको थियो ।
यद्यपि, हाल विश्व बजारमा उपलब्ध लग्जरी कारको तुलनामा यो मूल्य निकै महँगो हो । लुचेको मूल्य रोल्स रोयस कुलिननको टप भेरियन्टभन्दा ५० हजार डलर महँगो हो ।
लुचे एप्पलका पूर्व डिजाइनर जोनी आइभ र औद्योगिक डिजाइनर मार्क न्युसनसँगको सहकार्यमा तयार पारिएको हो । ५ सिटे यो विद्युतीय कारले फेरारीको परम्परागत पहिचानमा विल्कुलै नयाँ शैली र लुक्स प्रस्तुत गरेको छ ।

लुचेमा प्रत्येका पाँग्रामा एक एक वटा गरी कुल चारवटा इलेक्ट्रीक मोटरहरू रहेका छन् । जसले संयुक्त रुपमा १०३५ हर्सपावर शक्ति प्रदान गर्छन् ।
प्याडल सिफ्टरहरू भए तापनि लुचेमा गियरबक्स छैन । त्यसैले ती प्याडलहरू आवश्यकता अनुसार टर्क र रिजेनेरेटिभ ब्रेकिङ समायोजन गर्न प्रयोग गरिन्छ ।
फेरारीका अनुसार लुचेले मात्र २.५ सेकेण्डमा प्रतिघण्टा १०० किमीको गति भेटाउन सक्छ । साथै, यसको १२२ किलोवाट आवरको ब्याट्रीले करिब ४५० रेन्ज दिने अपेक्षा गरिएको छ।
लुचेको हावाको अवरोध दर फेरारीका अन्य सडक कारहरूको तुलनामा कम रहेको दाबी गरिएको छ । यो पुरोसाङ्गे एसयूभीभन्दा लगभग २ इन्च लामो र २ इन्च होचो छ ।
लुचेले फेरारीका लागि धेरै नयाँ पहिचानहरू ल्याएको छ । प्योर ईभी पावरट्रेन बाहेक लुचेमा सामान्य सडकमा चल्ने फेरारी कारहरूमध्ये सबैभन्दा ठूला पाँग्राहरू राखिएका छन् ।
कम्पनीले इतिहासमै पहिलो पटक पछाडि बेन्च सीट प्रयोग गरेको छ । जहाँ सजिलै ३ जना बस्न सक्छन् । साथै, यसमा कृत्रिम इन्जिनको आवाज थप्नुको सट्टा पछाडिको एक्सेलबाट आउने आवाजलाई नै बढाउने पेटेन्ट गरिएको साउण्ड सिस्टम प्रयोग गरिएको छ ।

