असोजमा ६ विद्युतीय कार १०० युनिट बढी आयात, कुन कति ?

काठमडौं । चालु आर्थिक वर्षको असोजमा महिनामा उल्लेख्य संख्यामा विद्युतीय कार (ईभी) आयात भएको छ । व्यवसायीहरूले दशैं, तिहार चाडवाडलाई लक्षित गर्दै एक महिनामै साढे ३ हजार युनिट बढी ईभी नेपाल ल्याएका हुन् ।

भन्सार तथ्यांक अनुसार असोजमा २२ ब्राण्डका कुल ३६९५ युनिट विद्युतीय कार आयात भएको छ । असोजमा झण्डै २ दर्जन ब्राण्डका ईभी आयात भए पनि केबल ४ ब्राण्डका ६ मोडलले मात्र १०० युनिटको आँकडा पार गरेका छन् ।

जसमा सर्वाधिक आयात हुने ईभी मोडल बनेको छ गत वर्ष मात्रै नेपाल आएको डोङफेङ नामी भिगो । एमएडब्लू वृद्धिले असोजमा मात्रै ८२९ युनिट भिगो नेपाल भित्र्याएको हो । कम्पनीले आक्रमक रूपमा मूल्य घटाएसँगै भिगोमा उच्च आकर्षण देखिएको हो ।

असोजमा बीवाइडी एटो २ दोस्रो धेरै आयात भएको छ । साइमेक्स इंकले यो १ महिनामा ६३८ युनिट एटो २ भित्र्याएको हो । एटो २ नेपालमा छोटो समयमै धेरै बिक्री हुने ईभीको रेकर्ड बनाएको छ । एटो २ ले १५ महिनामै ३ हजार युनिट आयात भएको हो ।

असोजमा तेस्रो धेरै आयात हुने मोडलमा बीवाइडीकै एटो १ रहेको छ । साइमेक्सले असोजमा ३५० युनिट एटो वान भित्र्याएको छ ।

चौथोमा टाटाको पन्च ईभी रहेको छ । सिप्रदी ट्रेडिङले असोजमा ३३३ युनिट पन्च ईभी नेपाल ल्याएको छ । कम्पनीले फेसलिफ्ट मोडल ल्याएसँगै पन्च ईभीको माग बढेको छ ।

पाँचौंमा बीवाइडी एटो थ्री रहेको छ । साइमेक्स इंकले असोजमा १५० युनिट एटो थ्री नेपाल ल्याएको छ ।

पृथक डिजानका कारण अहिले नेपाली बजारमा हटकेक बनेको चेरीको आइकार भी २३ छौटौं धेरै आयात हुने मोडल बनेको छ । एसपीजी अटोमोबाइल्सले असोजमा १२५ युनिट आइकार भी २३ ल्याएको छ ।

यी बाहेक अन्य मोडलले भने १०० युनिटको आँकडा पार गर्न सकेनन् ।


Back_to_top