काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगंज भन्सारमा रेल पूर्वाधारको अधिकतम उपयोग गर्दै मालसामान ढुवानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
वीरगंजस्थित सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी) को स्थलगत अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले रासायनिक मलको आपूर्ति व्यवस्थापनमा रेलमार्गको भूमिका महत्वपूर्ण हुने बताउँदै सोसँग सम्बन्धित भन्सार प्रक्रियालाई छिटो, छरितो र व्यवस्थित गर्न निर्देशन दिए ।
बारा-३ का सांसद अरबिन्द साहसहित पुगेका सभापति गजुरेलले सार्वजनिक-निजी साझेदारी (पीपीपी)मोडेलमा संचालित दुवै बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय प्रभावकारिता र सेवा प्रवाहको अवस्था बारे जानकारी लिए ।
उनले वीरगंजका दुवै बन्दरगाहमा प्रयोग भइरहेको पीपीपी मोडेललाई अन्य पूर्वाधार विकासका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने बताए । निजी क्षेत्रको दक्षता, व्यवस्थापकीय क्षमता र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्न सके पूर्वाधार सञ्चालन र सेवा प्रवाहमा सुधार ल्याउन सकिने उनको भनाइ छ ।
अनुगमनका क्रममा टोलीले पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा र आईसीपी संचालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेलगायतसँग छलफल गरेका थिए ।

