काठमाडौं । टोयोटाले हाइब्रिड र प्लगइन हाइब्रिड कारहरूमा प्रयोग गर्न नयाँ पुस्ताको १.५ लिटर पेट्रोल इन्जिन बनाएको छ । कम्पनीले नयाँ इन्जिन नेचुरली एस्पिरेटेड र टर्बोचार्ज्ड दुवै विकल्पमा ल्याएको हो ।
नयाँ मोड्युलर फोर सिलिण्डर इन्जिनको रूपमा विकास गरिएको छ । कम्पनीले अहिले प्रयोग गरिरहेको १.५ लिटर र १.८ लिटर इन्जिनभन्दा साइजमा यो निकै सानो हुने टोयोटाले जनाएको छ ।
बढ्दो विद्युतीकरणलाई ध्यानमा राखेर विकास गरिएको नयाँ इन्जिनलाई टोयोटाले नयाँ हाइब्रिड सिस्टम र पावर इलेक्ट्रोनिक्ससँग एकीकृत रूपमा तयार पारेको हो । यसले इन्जिन, इलेक्ट्रिक मोटर र पावर कन्ट्रोल युनिट बीच सहकार्य गर्दै माइलेज बढाउने टोयोटाको दाबी छ ।
कम्पनीका अनुसार नयाँ प्रविधिबाट इन्धन खपत १५ प्रतिशतभन्दा बढी घट्नेछ । मेकानिकल फ्रिक्सन कम गर्ने, थर्मल म्यानेजमेन्ट सुधार गर्ने र विद्युतीय प्रणालीमा हुने ऊर्जा क्षति कम गर्दै माइलेज वृद्धि हुनेछ ।
टोयोटाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेर विकास गरिरहेको नयाँ ‘मल्टी–पाथवे’ आर्किटेक्चरमा हाइब्रिड र प्लगइन हाइब्रिड पावरट्रेनसमेत समायोजन गर्न सकिने भएकोले यी इन्जिन उपयोगी हुनेछन् ।
सामान्यतया अटोमोबाइल कम्पनीहरूले पेट्रोल गाडीको प्लेटफर्मलाई परिमार्जन गरेर ईभी बनाउने गर्छन् । तर, टोयोटाले ईभीलाई केन्द्रमा राखेर विकास गरिएको आर्किटेक्चरमा पेट्रोल, हाइब्रिड र प्लगइन हाइब्रिड गाडी बनाउने उल्टो रणनीति अपनाउन खोजेको देखिन्छ ।
पछिल्लो समय ईभी विकासमा ढिलो अघि बढेको भन्दै आलोचना खेपिरहेको टोयोटाले आफ्नो ‘मल्टी-पाथवे’ रणनीतिलाई थप बलियो बनाउँदै लगेको छ । अमेरिकामा हाइब्रिड गाडीको माग बढिरहेको अवस्थामा नयाँ प्रविधिले कम्पनीलाई हाइब्रिड र प्लगइन हाइब्रिड बजारमा प्रतिस्पर्धात्मक लाभ दिने अपेक्षा गरिएको छ ।

