काठमाडाै । बेलायती प्रिमियम मोटरसाइकल ब्रान्ड नोर्टनले नयाँ ४५० सीसी क्षमताको अर्बन मोटरसाइकल विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ। कम्पनीले नोभेम्बर २ मा मोटरसाइकलको पहिलो आधिकारिक तस्बिर सार्वजनिक गरेको हो। कम्पनीले यसको औपचारिक प्रदर्शनी भने नोभेम्बर ३ देखि इटालीमा सुरु भएको इक्मा अटो शो २०२६ मा गरेको हो ।
टीभीएस मोटर कम्पनीको स्वामित्वमा रहेको नोर्टनले पहिलोपटक सानो क्षमताको सिंगल सिलिन्डर मोटरसाइकल सेग्मेन्टमा प्रवेश गरेको हो । कम्पनीले नयाँ मोटरसाइकलको नाम भने सार्वजनिक गरेको छैन । यसको नाम बिक्री सुरु हुनुअघि घोषणा गरिने र सन् २०२७ देखि बिक्री सुरु हुने बताइएको छ ।
नयाँ मोडलको डिजाइन परम्परागत नोर्टन मोटरसाइकलभन्दा निकै फरक र आधुनिक देखिन्छ । एङ्गुलर डिजाइनको हेडल्याम्प, आकर्षक फ्युल ट्याङ्क, इन्जिन वरिपरि प्रयोग गरिएको सिल्भर फिनिसिङ र स्लिम सिट यसका मुख्य डिजाइन विशेषता हुन् ।
यसको पछाडिको भाग छोटो र माथितर्फ उठाइएको छ भने पछाडिको ठूलो हिस्सा खुला देखिन्छ । अपस्वेप्ट डिजाइनको एग्जस्ट, मेटालिक हिट सिल्ड, अलोय ह्विल तथा पछाडिको ह्विलमा जोडिएको नम्बर प्लेट होल्डरले यसलाई फरक लुक दिएको छ।
मोटरसाइकलमा अगाडि अपसाइड डाउन युएसडी फ्रन्ट फोर्क र दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ । यसको डिजाइन कन्सेप्ट मोटरसाइकलजस्तै देखिए पनि उत्पादन संस्करणमा हाल देखिएका सबै विशेषता यथावत् रहने वा नरहनेबारे पनि स्पष्ट पारिएको छैन ।
नयाँ नोर्टन मोटरसाइकलमा ४५४ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहनेछ । कम्पनीका अनुसार उक्त इन्जिनलाई सहरी यात्राका लागि सहज र प्रतिक्रियात्मक पावर डेलिभरी दिने गरी विकास गरिएको हो ।
यसले अधिकतम ४५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले पुष्टि गरेको छ । यद्यपि, यसको अधिकतम पावर, गियरबक्स, तौल तथा अन्य प्राविधिक विवरण सार्वजनिक गरिएको छैन । मोटरसाइकलमा आल्मुनियम फ्रेम प्रयोग गरिएको छ । यसले मोटरसाइकललाई चुस्त ह्यान्डलिङ र सहरी सडकमा सहज नियन्त्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसको अर्को आकर्षक विशेषता ८ इन्चको टीएफटी टचस्क्रिन डिस्प्ले हो । एड्भान्स कनेक्टिभिटी सुविधासहितको उक्त डिस्प्लेले यसलाई आधुनिक प्रविधियुक्त मोटरसाइकलका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

