दर्जनौँ ब्राण्ड, एउटै रणनीति : कसरी विश्व बजारमा बलियो बन्दैछ जिली ?


काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनीहरू विश्व बजारमा उत्पादन बिक्रीको लागि तँछाडमछाड गरिरहँदा जिली ग्रुपभने फरक रणनीति बनाउँदै अगाडि बढेको छ ।

जिलीले एउटै ब्राण्डनेमको प्रयोगबाट सबै ग्राहकलाई आकर्षित गर्नेभन्दा फरक मूल्य, प्रविधि र बजारका लागि छुट्टाछुट्टै ब्राण्ड विकास गर्ने रणनीति अपनाउँदै अगाडि बढेको देखिन्छ । त्यही रणनीतिले जिली ग्रुपलाई विश्व अटोमोबाइल उद्योगको प्रभावशाली समूह बनाउँदै अगाडि बढाएको छ ।

जिली होल्डिङ ग्रुपले सन् २०२५ मा विश्वभर ४१ लाख १६ हजार ३२१ वटा गाडी बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो ।

जिली ग्रुपले बिक्री गरेका कुल गाडीमध्ये २२ लाख ९३ हजारभन्दा बढी न्यू इनर्जी भेहिकल हुन् । जुन कुल बिक्रीको ५६ प्रतिशत हो । यसले जिलीको रणनीति परम्परागत पेट्रोलियम गाडीको बजारमा मात्र सीमित नरहेको प्रस्ट पार्छ ।

फरक ग्राहकका लागि फरक ब्राण्ड

जिलीको ब्राण्ड संरचनालाई हेर्दा यसको मुख्य रणनीति बजार विभाजनमा आधारित देखिन्छ । एउटै कम्पनी अन्तर्गत विभिन्न ग्राहक समूहलाई लक्षित गर्ने ब्राण्ड संचालन गरेर मूल्य, डिजाइन र प्रविधिमा फरक पहिचान बनाउने प्रयास गरिएको छ ।

जिली अटो, जिली ग्यालेक्सी जस्ता ब्राण्ड मास मार्केटमा खुब रुचाइएको छ । ग्यालेक्सी ब्राण्डमा न्यू इनर्जी भेहिकल उत्पादन हुन्छ । जिलीमा सबै किसिमका गाडी उत्पादन गर्दै आएको छ । जिली ब्राण्ड खासगरी प्रविधियुक्त गाडीमा जोड दिएको छ ।

जिलीको पूर्ण स्वामित्वमा रहेको जिकर ब्राण्ड प्रिमियम तथा लक्जरी विद्युतीय गाडीको बजारमा केन्द्रित छ ।

लिंक एण्ड को ब्राण्ड आधुनिक डिजाइन, कनेक्टिभिटी र इलेक्ट्रीक भेहिकल मार्फत युवा तथा प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै अगाडि बढेको देखिन्छ ।

स्विडिस ब्राण्ड भोल्भो र पोलास्टर जस्ता ब्राण्ड सुरक्षा, प्रिमियम अनुभव र विद्युतीय मोबिलिटीसँग जोडिएका ब्राण्ड हुन् । यी गाडीले अन्तर्राष्ट्रिय बजारमा जिलीलाई फरक पहिचान दिन सफल भएको छ । पोलास्टार र भोल्भोको सहायताले अमेरिकी बजारमा जिली ग्रुप बलियो बन्ने रणनीतिमा छ ।

जिली ग्रुपको स्वामित्वमा रहेको लोटस ब्राण्ड उच्च प्रदर्शन र स्पोट्र्स कार उत्पादनमा केन्द्रित छ । जिली यतिमा मात्रै सिमित छैन । उसले स्मार्ट, प्रोटोन र एलईभीसी जस्ता ब्राण्डमा लगानी खन्याएको छ ।

यी ब्राण्डको सहायताले साना तथा सहरी गाडी खोज्ने दक्षिणपूर्वी एसियाली बजार र कमर्सियल मोबिलिटीका फरक आवश्यकता सम्बोधन गर्न लागिपरेको छ ।

यसका अतिरिक्त फारिजोन इलेक्ट्रीक कमर्सियल गाडीसँगै इन्जिन उत्पादन गर्ने कम्पनीहरुमा पनि जिलीले ठूलो लगानी खन्याएको छ । साथै, कम्पनीले को–को मोविलिटी, ग्रेसस्पेस जस्ता यातायता सेवा र अन्तरिक्ष प्रविधिमा पनि लगानी बिस्तार गरेको छ ।

प्रविधि, उत्पादन र विश्वव्यापी उपस्थितिमा जोड

जिलीको अर्को रणनीतिक पक्ष प्रविधि र उत्पादन विकासमा साझेदारी हो । आफ्नै ब्राण्डका लागि मात्र होइन, ब्याट्री, इलेक्ट्रिक ड्राइभ, स्मार्ट ककपिट, सवारीसाधनको इलेक्ट्रोनिक संरचना र ड्राइभर असिस्टेन्स प्रविधिमा लगानी गरेर समूहले विभिन्न ब्राण्डमा प्रविधि विस्तार गर्ने अवसर सृजना गरेको छ ।

त्यस्तै, विदेशमा निर्यात गरेर मात्रै बजार विस्तार गर्नेभन्दा स्थानीय उत्पादन र साझेदारीमा पनि जोड दिइएको छ । इन्डोनेसियामा विद्युतीय गाडीको उत्पादन सुरु गर्नु र इजिप्टमा उत्पादन प्लान्ट संचालनमा ल्याउनु यसका उदाहरण हुन् । यसले बजारको मागअनुसार उत्पादन पुर्याउन र विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति स्थापित गर्न सहयोग पुग्ने जिलीले विश्वास लिएको छ ।

समग्रमा, जिलीको शक्ति एउटा सफल कार ब्राण्डमा मात्र सीमित छैन । फरक मूल्य समूहका ब्राण्ड, अन्तर्राष्ट्रिय कम्पनीमा लगानी, विद्युतीय प्रविधिमा विस्तार र विश्व बजारमा स्थानीय उत्पादनको संयोजन यसको प्रतिस्पर्धात्मक रणनीति बनेको छ ।

 

 


Back_to_top