काठमाडौं । लिपमोटरको नयाँ एसयूभी बी०३ एक्सको डेलिभरी सुरू भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले यसअघि बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी दिन थालेको हो ।
काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो उपलब्धि हासिल भएको कम्पनीले जनाएको छ । पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्। योसँगै बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले ग्राहकको उत्साहजनक बुकिङबाट डेलिभरीको चरणमा प्रवेश गरेको बताए ।
‘सुरुवातदेखि बी०३ एक्सप्रति ग्राहकहरूको प्रतिक्रिया निकै उत्साहजनक रहँदै आएको छ। आज बुकिङबाट डेलिभरीको चरणमा प्रवेश गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यी चाबीहरू हस्तान्तरण गर्नु भनेको हाम्रा ग्राहकहरूलाई एक स्मार्ट तथा उच्च गुणस्तरीय विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्नु हो। हामीप्रति विश्वास व्यक्त गर्नुभएका सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौँ। साथै, सवारीको प्रतीक्षामा रहनुभएका सबै ग्राहकलाई छिटो र सहज रूपमा सवारी डेलिभरी सुनिश्चित गर्न हाम्रो टोली प्रतिबद्ध छ,’ उनले भने ।
नेपाली सडकलाई ध्यानमा राखेर निर्माण गरिएको लिपमोटर बी०३ एक्समा यस सेग्मेन्टमै अग्रणी १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवरको ब्याट्री, १९० मिमीको ग्राउन्ड क्लियरेन्स र ५०५ किलोमिटर (सीएलटीसी)सम्मको ड्राइभिङ रेन्ज रहेको छ। यो गाडी फास्ट चार्जिङबाट केवल १६ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज हुन्छ।
यसको क्याबिनमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम र लेभल २ एडीएएस सुरक्षा प्रविधि समावेश छन्। उत्कृष्ट उपयोगितालाई थप मजबुत बनाउँदै यसमा ५१० लिटर क्षमताको बुट स्पेस रहेको छ। जसलाई सिटहरू फोल्ड गर्दा बढाएर १,६०५ लिटरसम्म पुर्याउन सकिन्छ।

