आकर्षक मूल्यमा बिक्री सुरू भयो ‘जेटोर टी-१’, नेपालमा पनि छिट्टै आउने

काठमाडौं । चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको प्रिमियम एसयूभी ब्राण्ड जेटोरले नयाँ टी-१ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर ४ तारिखमा एक कार्यक्रम आयोजना गर्दै नयाँ टी-१ एसयूभी सार्वजनिक गरेको हो ।

जेटोरले नयाँ टी-१ सिरिजलाई पेट्रोल र प्लगइन हाइब्रिड दुई इन्जिन विकल्पमा ल्याएको छ । खासगरी यसको प्लगइन हाइब्रिड मोडल प्रति नेपाली उपभोक्तामा पनि साचो हुनसक्छ ।

नेपालमा लक्ष्मी मोटरहबले जेटोर ब्राण्डका एसयूभी ल्याएको हो । अहिले जेटोर टी-२ मोडलबाट बिक्री थालेको कम्पनीले छिट्टै नयाँ टी-१ सिरिज पनि उपलब्ध गराउने छ ।

चीनमा नयाँ टी-१ सिरिज सार्वजनिक भएसँगै यसको नयाँ संस्करण पनि नेपाली बजारमा छिट्टै उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । राइट ह्याण्ड ड्राइभमा पनिसँग सँगै विकास भएको कारण नेपाली बजारमा टी-१ उपलब्ध हुनेछ ।

नयाँ टी-१ सिरिजमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसहित फ्रन्ट ह्वील ड्राइभ (एफडब्ल्यूडी), २.० लिटर टर्बो इन्जिनसहित अल ह्वील ड्राइभ (एडब्ल्यूडी) र प्लगइन हाइब्रिड इन्जिन पाउन सकिन्छ । जेटोरले चनिमा अफर मूल्य भन्दै सुरुवाती सिमित अवधिको लागि मूल्य ८९ हजार ९०० युआन अर्थात् करिब १३ हजार ५०० अमेरिकी डलर तोकिएको छ ।

यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १८१ हर्सपावर र २९० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ स्पीड डुअल क्लच ट्रान्समिसन दिइएको छ ।

त्यसैगरी, २.० लिटर टर्बो इन्जिनले २५१ हर्सपावर र ३९० एनएम टर्क उत्पादन गर्छ । यो भेरियन्टमा बोर्गवार्नरको एक्सडब्ल्यूडी अल ह्वील ड्राइभ सिस्टम उपलब्ध छ ।

टी-१ प्लस सी-डीएम प्लगइन हाइब्रिडमा २६.६ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सीएलटीसी मापदण्डअनुसार एकपटकको चार्जमा १५० किलोमिटर विद्युतीय रेन्ज दिने कम्पनीको दाबी छ । पेट्रोल र ब्याट्रीको संयुक्त रेन्ज १ हजार ३०० किलोमिटर हुनेछ ।

डिजाइनका हिसाबले बक्सी लुकमा तयार भएको टी-१ मा १५.६ इन्चको २.५ के रिजोलुसन टचस्क्रिन, स्न्यापड्रागन प्रोसेसर र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचर उपलब्ध छन् ।

जेटोरका अनुसार विश्व बजारमा यसको बक्सी एसयूभी सिरिजको कुल बिक्री ८ लाख ४० हजार युनिट नाघिसकेको छ । त्यसमध्ये टी-१ सिरिजको बिक्री २ लाख २२ हजार युनिटभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।


Back_to_top