आयो हिरो एक्स्ट्रिम १२५ आरको स्टेल्थ एडिसन, कारमा हुने फिचर उपलब्ध

काठमाडौं । भारतीय दुईपाङ्ग्रे सवारीसाधन निर्माता हिरो मोटोकर्पले आफ्नो लोकप्रिय स्पोर्टी डिजाइन मोटरसाइकल एक्स्ट्रिम १२५ आरको नयाँ स्टेल्थ एडिसन सार्वजनिक गरेको छ । कम्पनीले भारतमा यसको मूल्य १ लाख १६ हजार २५० भारु (एक्स-शोरुम) निर्धारण गरेर सार्वजनिक गरेको हो ।

नयाँ स्टेल्थ एडिसनलाई एक्स्ट्रिम १२५ आरको टप-स्पेक भेरियन्टका रूपमा ल्याइएको हो । यसमा ४.२ इन्चको टीएफटी डिस्प्ले, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर थप गरेर नयाँ कलरमा ल्याइएको छ ।

यो भेरियन्ट हाल उपलब्ध डुअल च्यानल एबीएस भेरियन्टभन्दा ६ हजार ७०० भारु महँगो छ । डुअल च्यानल एबीएस भेरियन्टको मूल्य भारतमा १ लाख ९ हजार ५५० भारु रहेको छ ।

कम्पनीले नयाँ स्टेल्थ एडिसन भारतभरका आधिकारिक डिलरमार्फत बिक्री सुरू गरिसकेको छ । भारतीय बजारमा यसले टीभीएस रेडर १२५ र होन्डा सीबी१२५ हर्नेटजस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

४.२ इन्च टीएफटी डिस्प्ले र टीपीएमएस

नयाँ एक्स्ट्रिम १२५ आर स्टेल्थ एडिसनको मुख्य आकर्षण ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट डिस्प्ले हो । यसमा ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । डिस्प्लेले टर्न-बाइ-टर्न नेभिगेसन, इनकमिङ कल तथा एसएमएस अलर्ट र म्युजिक कन्ट्रोलजस्ता सुविधा प्रदान गर्छ ।

त्यस्तै, यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) पनि दिइएको छ । हिरोका अनुसार स्पोर्टी १२५ सीसी मोटरसाइकल सेग्मेन्टमै पहिलोपटक यो फिचर उपलब्ध गराइएको हो । यसले रियल टाइममा टायरको प्रेसर देखाउनुका साथै टायरमा आवश्यक प्रेसरभन्दा कम वा बढी भएमा राइडरलाई जानकारी दिन्छ ।

मोटरसाइकलमा डुअल च्यानल एबीएस, रेन, रोड र स्पोर्ट गरी तीनवटा राइडिङ मोड तथा क्रुज कन्ट्रोल पनि उपलब्ध छन्।

१२५ सीसी इन्जिन

नयाँ स्टेल्थ एडिसनमा पनि पहिलेको जस्तै १२४.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले ८ हजार २५० आरपीएममा ११.४ बीएच पावर तथा ६ हजार ५०० आरपीएममा १०.५ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड गियरबक्स दिइएको छ ।

कम्पनीका अनुसार यसले ५.७ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको माइलेज क्षमता ६६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी छ ।

मोटरसाइकलमा डायमन्ड फ्रेम प्रयोग गरिएको छ । सस्पेन्सनका लागि अगाडि ३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि ७ स्टेप एड्जस्ट गर्न मिल्ने मोनोशक दिइएको छ ।

ब्रेकिङका लागि अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक उपलब्ध छ । यसमा डुअल च्यानल एबीएस दिइएको छ । मोटरसाइकलमा १७ इन्चको एलोय ह्वील, १० लिटर क्षमताको फ्युल ट्याङ्क, ७९४ एमएम सिट हाइट र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ।


Back_to_top