काठमाडौं । भारतमा विद्युतीय कार बिक्रीमा उछाल आएको छ । सन् २०२६ मा ईभी बिक्री उल्लेख् बढेर १० महिनामै ३ लाख युनिट नाघेको हो ।
सन् २०२ जनवरीदेखि नाभेम्बर ९ सम्ममा भारतीय बजारमा ३ लाख ४ हजार ७०१ युनिट विद्युतीय कार बिक्री भएको हो । यो गत वर्षभरीको भन्दा ५६ प्रतिशतले धेरै हो । भारतमा सन् २०२५ मा कुल १ लाख ९६ हजार युनिट विद्युतीय कार बिक्री भएको थियो ।
सन् २०२६ को १० महिनामै इतिहासकै सर्वाधिक कार बिक्रीको रेकर्ड बनिसकेको छ । आगामी २ महिना यही रफ्तारमा ईभी बिक्री भएमा यो वर्ष साढे ३ लाख युनिटको आँकडा पार हुनेछ ।
सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म अधिकांश महिनामा भारतमा विद्युतीय कारको बिक्री २५ हजार युनिटभन्दा बढी रहेको थियो । पछिल्लो ६ महिनामा भने लगातार ३० हजार युनिट बढी बिक्री हुँदै आएको छ ।
भारतीय बजारमा १ दर्जन बढी ब्राण्डका ईभी बिक्री हुँदै आएका छन् । जसमा टाटा मोटर्स पहिलो स्थानमा रहेको छ । कम्पनीले सन् २०२६ नोभेम्बर ९ सम्म १ लाख २० हजार ८९५ युनिट बिक्री गरेको छ । भारतीय ईभी बजारमा टाटाको हिस्सा ३९.६७ प्रतिशत छ ।
गत वर्ष दोस्रो स्थानमा रहेको जेएसडब्लू एमजी मोटरलाई पछि पार्दै महिन्द्रा दोस्रो स्थानमा उक्लिएको छ । यस अवधिमा महिन्द्राले ६९ हजार ६६० विद्युतीय कार बिक्री गरेको छ । महिन्द्राको कुल बजार हिस्सा २२.८६ प्रतिशत पुगेको छ ।
जेएसडब्लू एमजी मोटर भने तेस्रो स्थानमा झरेको छ । कम्पनीले यस वर्ष जनवरीदेखि नोभेम्बर ९ सम्म ५९ हजार ९८८ विद्युतीय कार बिक्री गरेको छ । जेएसडब्लू एमजीको बजार हिस्सा १८.७० प्रतिशत रहेका छ ।
ईभी बिक्रीमा भिनफास्ट चौथो स्थानमा रहेको छ । कम्पनीले १५ हजार ८६७ विद्युतीय कार बिक्री गर्दै ५.२० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
मारुती सुजुकी १२ हजार ३९० युनिट विद्युतीय कार बिक्री गर्दै पाँचौं स्थानमा छ । त्यसैगरी, किया ७ हजार ६१२ युनिट (छैटौं), बीवाइडी ६ हजार ७५५ युनिट (सातौं), हुन्डाई ६ हजार १३ युनिट (आठौं) स्थानमा रहेको छ ।
त्यस्तै, विलासी कार उत्पादक बीएमडब्लूले ४ हजार २७३ युनिट, मर्सिडिज बेन्जले भने १ हजार ४१६ युनिट, टेस्लाले १ हजार १५३ युनि, टोयोटा ७६२ युनिट, भोल्भो कार्सले ३८३ र पोर्शेले ८३ युनि विद्युतीय कार बिक्री गरेका छन् ।

