मदन भण्डारी राजमार्गको थप ४७ किमी कालोपत्र गर्न लाग्यो ठेक्का

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत थप ४७ किलोमिटर सडक कालोपत्रका लागि कम्पनी छनोट भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले थप ३ खण्डको कालोपत्रका लागि कम्पनी छनोट गरेको हो ।

निर्देशनालयले ३ निर्माण कम्पनी छनोट गरी बोलपत्र स्वीकृतिको आशयपत्र जारी गरेको हो । अब छनोट भएका कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाइने आयोजनाले जनाएको छ ।

निर्देशनालयका अनुसार कुल ४६.९२५ किमी सडकलाई ३ प्याकेजमा ठेक्का लगाइएको हो । १७.४६५ किमी लामो गोखुङ्गा-बागदुला खण्डको ठेक्का एम/एस ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले पाएको छ । कम्पनीले १ अर्ब ४१ करोड २६ लाख ४१ हजार २८९.६१ रुपैयाँमा ठेक्का पाएको हो ।

त्यस्तै, १२.९२ किमी लामो भेडुवा-तम्घास खण्डको ठेक्का एम/एस दिव्य ज्योति कन्स्ट्रक्सन प्रालि, धादिङले १ अर्ब ८ करोड ८९ लाख ६० हजार ३५३.९१ रुपैयाँमा पाएको छ ।

बड्डीचौर-गुटु-कर्णाली सडक अन्तर्गत १६.५२ किमी लगाम–धामिसेन खण्डको ठेक्का एम/एस महालक्ष्मीरब्राइट मल्टी जेभी, काभ्रेले १ अर्ब ३० करोड ८८ लाख ७९ हजार ९९५.१९ रुपैयाँमा पाएको छ ।

पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिम डडेलधुराको रूपालसम्म पुग्ने १३९० किमी लामो यो राजमार्ग आव २०७५/७६ बाट सुरु भएके थियो । हालसम्म समग्रमा करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ ।


Back_to_top