काठमाडौं । दुई सातादेखि नेपाल–चीन सीमास्थित कोरला नाकामा रोकिएका विद्युतीय सवारी (कार, माइक्रोबस) साधन हिउँ पन्छाएर ल्याउन थालिएको छ ।
गत कात्तिक १३ गतेदेखि परेको बाक्लो हिमपातका कारण सीमा क्षेत्रमा करिब ५०० बढी गाडी रोकिएका थिए । जिल्ला प्रशासन मुस्ताङ, कालिगण्डकी करिडोर आयोजना र चिनियाँ भन्सारको सहयोगमा आजदेखि हिउँ पन्छाएर रोकिएका गाडी नेपाल भन्सारतर्फ पठाउन थालिएको हो ।
कोरला क्षेत्रमा करिब २ फिटसम्म बाक्लो हिउँ पर्दा चीनबाट ल्याइएका गाडी पुरिएका थिए । डोजरको सहायतामा हिउँ पन्छाई रोकिएका गाडी धमाधम भन्सार जाँचपासका लागि पठाउन थालिएको हो ।साथै, कोरला चउरमा फसेका गाडीलाई अर्को गाडीले तानेर सडकसम्म ल्याउने काम भइरहेको छ ।
चिनियाँ सीमा नाका कोरालादेखि मुस्ताङ भन्सार कार्यालय १४ किलोमिटर तल रहेको छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सनाले कोरला नाकामा रोकिएका गाडी हिउँ पन्छाएर ल्याउने काम भइरहेको छ ।

सीमा क्षेत्रमा हिउँ जमेको भए पनि भन्सार क्षेत्रमा कुनै अवरोध नरहेको उनले बताए । कार्यालयमा आइपुगेका गाडीको जाँचपास भइरहेको उनले बताए ।
‘चीनबाट आयात गरिएका गाडी हिमपातका कारण सीमाक्षेत्रमै रोकिएका थिए । जिल्ला प्रशासन, चिनियाँ भन्सार लगायतको सहयोगमा आजदेखि हिउँ पन्छाएर ल्याउन थालिएको छ,’ उनले मेरोअटोसँग भने, ‘सीमा क्षेत्रमा हिउँ जमेको भए पनि भन्सार यार्ड, कार्यालयमा कुनै अवरोध छैन । आएका गाडी धमाधम जाँचपास भइरहेका छन् ।’
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द भएपछि व्यवसायीले विकल्पमा कोरलाबाट गाडी आयात गरिरहेका छन् । तर, प्राकृतिक विपत्ति र प्रतिकूल मौसमका कारण आयातमा अवरोध भइरहेको छ ।

यसअघि गत असोज दोस्रो साता आएको बाढिपहिरोले कालिगण्डकी करिडोरमा क्षति पुर्याउँदा २ साता सडक बन्द भएको थियो । जसकारण व्यवसायीले दशैंमा डेलिभरी दिने गरी ल्याएका २ हजार बढी गाडी मुस्ताङमै रोकिएका थिए । यद्यपि, अहिले ती गाडी ल्याएर डेलिभरी दिइसकेका छन् । असोज अन्तिम सातादेखि सडक खुले पनि अहिले हिउँले समस्या बनाएको हो ।
कोरला हुँदै असोजमा मात्रै ३१०० युनिट गाडी आयात भएका थिए । यस नाकाबाट बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेको छ ।
रोकिएका गाडी कोरलाबाट मुस्ताङतर्फ आउने थालेसँगै ग्राहकले चाँडै डेलिभरी पाउने देखिन्छ । बिक्रेताहरू पनि जतिसक्दो चाँडो गाडी ल्याएर ग्राहकलाई हस्तारन्तरण गर्न प्रयास गरिरहेका छन् ।

