काठमाडौं । सडक निर्माणमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेसन (एफडीआर) उपकरण प्रयोग गरिने भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत निर्माण हुने पूर्व पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको खण्ड चौडा एवं सडक सतह पुनःस्थापना कार्यका लागि एफडीआर उपकरण प्रयोग गरिने भएको हो ।
उक्त उपकरण दाङ आइपुगेका एमसीए नेपालले जानकारी दिएको छ । एफडीआर प्रविधिबाट विद्यमान सडकबाट प्राप्त हुने अस्फाल्ट लगायतका सामग्रीको पुनः प्रयोग गरी अझ टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गरिन्छ ।
साथै, भविष्यमा सडक मर्मत कार्यलाई अझ कुशल र प्रभावकारी बनाउने छ ।
एमसीसी अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति हुँदैछ । सोमध्ये पहिलो चरणमा धानखोला लमही ४० किलोमिटर सडक निर्माण अघि बढाइएको हो ।
यो सडक विस्तारको ठेक्का नेपाली कम्पनी शर्मा-कुमार जेभीले २ करोड अमेरिकी डलर (करिब ३ अर्ब ८ करोड नेपाली रुपैयाँ) भ्याट बाहेकमा ठेक्का पाएको छ । २०८२ पुस ७ गते ठेक्का सम्झौता भएको यो सडक २ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
यो सडक १२ मिटर फराकिलो बनाइने छ । जसमा ७ मिटरको मुख्य सडक (क्यारिज वे) र दुवैतर्फ २.५/२.५ मिटरको शोल्डर निर्माण गरिने छ ।
एफडीआर एण्ड सुपरपेव सडक निर्माण गर्ने नयाँ प्रविधि हो । यसको प्रयोग सन् १९८० को दशकदेखि अमेरिकी, युरोपियन देशमा सुरू भएको थियो । हाल एशियाली, अफ्रिकी देशहरूमा समेत प्रयोग भइरहेको छ । नेपालमा भने पहिलोपटक प्रयोग हुन लागेको हो ।
यो प्रविधिका एफडीआर र सपुरपेव फरक-फरक तह हुन् । तर, यी एकअर्काका परिपूरक हुन् । एफडीआर सडकको तल्लो तह हो । यो एउटै लेयर हुन्छ । यो सडकको डिजाइन अनुसार २५० देखि ३०० एमएमसम्म बाक्लो हुन्छ । यो सिमेन्ट, लाइम, बिटुमिनको मिश्रणबाट तयार गरिन्छ । जुन उच्च भारवहन क्षमताको हुन्छ ।
सुपरपेव एफडीआरभन्दा माथिल्लो तह हो । यसमा पनि डीबीएमको जस्तै अस्फाल्ट गरिन्छ । तर, सुपरपेव अस्फाल्टमा प्रयोग हुने बिटुमिन उच्च गुणस्तरी हुन्छ । यसमा पर्फमेन्स ग्रेड (पीजी) बिटुमिन प्रयोग गरिन्छ । सुपरपेवले सडक सुरक्षित र टिकाउ बनाउन सहयोग पुर्याउँछ ।
यो प्रविधिमा सडक निर्माण गर्दा सडकमा यसअघि प्रयोग भएका सामग्री पुनः प्रयोग गर्न मिल्छ । सडक भत्काउँदा आउने ग्राभेल, कालोपत्र जस्ता पद्धार्थ नयाँ सडक निर्माणमा प्रयोग गर्न सकिन्छ । ती सामग्री पल्भराइजेसन मेसिनले ग्रेडेसनको साइज अनुसार टुक्र्याउँछ । त्यसमा सिमेन्ट मिसाएर सडकको तल्लो सतहमा राखिने
डीबीएमको तुलनामा एफडीआर प्रविधिबाट पुरानो सडक स्तरोन्नति गर्दा लागत ३० प्रतिशतसम्म सस्तो हुने बताइन्छ ।

