काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोरुसिंगे-चन्द्रौटा १९.२ किलोमिटर सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गर्न ठेक्का सम्झौता भएको छ ।
उक्त सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना एमसीसी १७ ग्रुपसँग सम्झौता गरिएको हो । कम्पनीले कुल ४ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ (भ्याट र पीएससहित)मा ठेक्का पाएको हो ।
निर्माण सम्पनीसँग ठेक्का सम्झौता गरिएको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिए । साढे २ वर्ष भित्र निर्माण सम्पन्न गरिने उनले बताए ।
‘पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजना अनुसार गोरुसिंगे-चन्द्रौटा सडक खण्डको ठेक्का सम्झौता सम्पन्न गरेका छौं । करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतको यस आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो,’ उनले भने ।
गोरुसिंगे-चन्द्रौटा सडक सडक सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३७.४ मिटर र ग्रामीण क्षेत्रमा २४ मिटर फराकिलो बनाइने छ । आयोजना अन्तर्गत ८ वटा पुल (२ ठूला र ६ साना), ७२ वटा कल्भर्ट, पैदलयात्रीका लागि २ वटा अण्डरपास, सवारीसाधनका लागि चन्द्रौटा चोकमा एउटा अण्डरपास र पैदलयात्रीका लागि एउटा आकाशे पुल निर्माण गरिनेछ । साथै, वन्यजन्तुमैत्री संरचनासमेत निर्माण हुनेछन् ।

निर्माण सम्पन्न भएको ५ वर्षसम्म सम्बन्धित कम्पनीले नै सडक मर्मत सम्भार पनि गर्नुपर्नेछ ।
बुटवल-गोरुसिंगे-चन्द्रौटा कुल ६९ किमी सडकमध्ये बुटवल-गोरुसिंगे ५० किमीको २०८१ असारमा ठेक्का लगाई हाल निर्माणको काम भइरहेको छ । उक्त सडक निर्माणको ठेक्का शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड/आशिष निर्माण सेवा प्राली जेभीले कुल १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४४१ रुपैयाँमा पाएको छ ।
दुई प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको उक्त सडकमा हाल माटो फिलिङ, भित्तो कटान, टेवा पर्खाल, कल्भर्ट, पुल, अण्डरपास, एनिमल क्रसिङ निर्माण लगायत काम भइरहेको छ । हालसम्म एकतिहाई बढी काम सम्पन्न भएको छ ।
त्यस्तै, बुटवल-चन्द्रौटा सडक खण्डककै तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न छुट्टै ठेक्का लगाइएको छ । पुल निर्माणको ठेक्का चिनियाँ कम्पनी एमरएस आनहुई सिनजियान होल्डिङ ग्रुपले १ अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसा (भ्याट र पीएससहित)मा पाएको छ ।

