टाटा समूह र सिप्रदियनले बाढी प्रभिावितलाई दिए २ हजार थान दराज

काठमाडौं । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढी प्रभावितहरूलाई २ हजार थान स्टील दराज उपलब्ध गराएको छ ।

संस्थाले ‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको हो ।

हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई २ हजार थान स्टिल अल्मिराज दराज हस्तान्तरण गरिएको हो ।

प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुर्‍याउने उद्देश्यसहित यो पहल गरिएको हो। यो कार्यक्रम प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना गर्ने बृहत् प्रयासको एक हिस्सा हो।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनबिलिटी अफिसर चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ लागायतको उपस्थिति थियो ।

टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले नुवाकोटका बाढी प्रभावित नागरिकको पुनर्स्थापना यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको बताए ।

‘टाटा समूहमा हामी विपद् प्रतिकार्य भनेको तत्काल राहतमा मात्र सीमित हुनुहुँदैन भन्ने विश्वास गर्छौं। प्रभावित परिवारले आफ्नो आत्मसम्मान पुनःस्थापित गर्न, जीवनलाई फेरि सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्यतर्फ अघि बढ्न सक्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। ‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापना यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छन्,’ उनले भने ।

त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले आफूहरू सक्षम समाज निर्माणमा योगदान पुर्‍याउन निरन्तर प्रतिबद्ध रहेको बताए ।

‘सिप्रदियन सहायता संस्थामा हामी समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित हुँदैन भन्ने मान्यता राख्छौं। हाम्रो उद्देश्य वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु हो। नुवाकोटमा सञ्चालित यो पहल कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने हाम्रो निरन्तर प्रतिबद्धताको उदाहरण हो। अझ समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौं,’ उनले भने ।


Back_to_top