काठमाडौं । चीनमा कार निर्माताहरू बीच कडा प्रतिस्पर्धा चलिरहेको छ । उनीहरूको प्रतिस्पर्धा मूल्य र फिचरमा मात्रै सीमित छैन । टेक्नोलोजी विकासमा पनि कडा प्रतिस्पर्धा देखिन्छ ।
चीनमा ईभी र हाइब्रिड कार उत्पादनमा कडा प्रतिस्पर्धा चल्दैछ । सँगै अफरोड र प्रतिकूल मौसममा पनि चलाउन सकिने प्रविधिमा पनि कडा टक्कर चलिरहेको देखिन्छ ।
त्यसैको पछिल्ला उदहारण बनेका छन् बीवाइडी याङवाङ यू ८, जिली ग्यालेक्सी क्रुजर र जेटोरको जोङहेङ जी-७०० । यी तीन वटै एसयूभी पानीमा तैरिन सक्ने विशेषताका कारण विश्व अटोमोबाइल क्षेत्रमै चर्चा कमाइरहेका छन् ।
पानीमा तैरिने ३ एसयूभीको प्रविधि, पावरट्रेन, अफरोड क्षमता र मूल्यमा भने उल्लेख्य भिन्नता छ । त्यसैले यी एसयूभीमा प्रयोग भएका पानीमा तैरिने प्रविधि र यसले कसरी काम गर्छ भन्ने कुरा धेरैको लागि रोचक बन्दै आएको छ ।
बीवाइडी याङवाङ यू ८ : सबैभन्दा पहिला पानीमा तैरिने एसयूभीको रूपमा चीनमा बिक्री भएको एसयूभी हो याङवाङ यू ८ । सन् २०२३ मा सार्वजनिक भएको यू ८ ईफोर प्लेटफर्म र डिसस-पी हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम प्रयोग भएको एसयूभी हो ।

यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिनसँगै हरेक चक्कामा अलगै मोटर दिइएको छ । प्रत्येक चक्कामा छुट्टाछुट्टै मोटर भएकाले उत्कृष्ट फोर ह्वील ड्राइभ अनुभव गर्न सकिन्छ ।
यसको मुख्य विशेषता पानीमा तैरिने आपत्कालीन प्रविधि हो । बाढी वा अन्य विपद्का बेला गाडी पानीमा डुब्दा फ्लोटिङ मोड सक्रिय गर्न सकिन्छ । कम्पनीका अनुसार यसले ३० मिनेटसम्म पानीमा तैरिन र करिब ३ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढ्न सक्ने क्षमता राख्छ ।
यसका अतिरिक्त ट्यांक टर्न, पङ्चर भएको अवस्थामा पनि नियन्त्रण कायम राख्ने प्रविधि र १ हजार मिलिमिटरसम्मको वाटर वेडिङ क्षमताको कारण यसले धेरैको मन जित्न सफल भएको छ । सन् २०२६ बीवाइडीले यसलाई अपडेट गरेको हो ।
जिली ग्यालेक्सी क्रुजर-७०० : बीवाइडीलाई पच्छाई रहेको जिलीले आफ्नो ग्यालेक्सी ब्राण्ड अन्तर्गत सन् २०२६ मा क्रुजर-७०० बिक्री थालेको छ । यसमा तीनवटा विद्युतीय मोटर भएको प्लगइन हाइब्रिड सिस्टम दिइएको छ ।

यसको टप भेरियन्टमा ८३० किलोवाट क्षमताको पावरफुल मोटर प्रयोग गरिएको छ । ४७.१४ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग भएका हाइब्रिड एसयूभी फोर ह्वील ड्राइभ, क्रयाब वाक, ट्यांक टर्न, टायर पङ्चर हुँदा पनि अगाडि बढ्न सक्ने प्रविधि र लाइडारमा आधारित एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमको कारण चर्चा कमाएको हो ।
यसको सबैभन्दा आकर्षक पक्ष फ्लोटिङ प्रविधि हो । गाडीमा वाटर राडार र सोनार जडान गरिएको छ । पानीमा प्रवेश गरेपछि यसको पछाडिको भागमा जडान गरिएका दुईवटा प्रोपेलरले गाडीलाई अगाडि बढाउँछन् ।
जिलीका अनुसार यो एसयूभी करिब ४० मिनेटसम्म पानीमा तैरिएर प्रतिघण्टा ७ किलोमिटरको गतिमा गुड्न सक्छ । यसको वाटर वेडिङ क्षमता ८०० मिलिमिटर छ ।
जेटोर जी-७०० : चेरी ग्रुपअन्तर्गतको जेटोरले आफ्नो प्रिमियम अफरोड ब्राण्ड जोङहेङमा जी-७०० एसयूभी बजारमा ल्याएको हो । यो गाडी सन् २०२५ अक्टोबरमा याङ्त्से नदी पार गरेपछि अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चित बनेको थियो । यसले करिब १.४८ किलोमिटर लामो नदीको दूरी २२ मिनेटमा पार गरेको थियो ।
यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन र प्लगइन हाइब्रिड प्रविधि प्रयोग गरिएको छ । यसको संयुक्त पावर ६६५ किलोवाट रहेको छ । टर्क भने १ हजार १३५ न्युटन मिटर छ । यसमा दुईवटा विद्युतीय मोटर, दुई गियर भएको डीएचटी ट्रान्समिसन र अफरोडका लागि विशेष पावर म्यानेजमेन्ट सिस्टम उपलब्ध छ ।

यसको वाटर फ्लोटिङ प्रविधि पनि निकै फरक छ । गाडीको बडी पानी नपस्ने गरी सिल गरिएको छ । पानीमा चल्नका लागि पछाडितर्फ दुईवटा छुट्टै प्रोपेलर जडान गरिएका छन् । कम्पनीका अनुसार जी-७०० करिब ४० मिनेटसम्म तैरिएर प्रतिघण्टा ८ किलोमिटरभन्दा बढीको गतिमा गुड्न सक्छ । यसको वाटर वेडिङ क्षमता ९०० देखि ९७० मिलिमिटरसम्म छ ।
मूल्यमा कति छ अन्तर ?
यी तीन एसयूभी चीन बिक्री हुँदै आएका छन् । यी ३ एसयूभी मध्ये सबैभन्दा सस्तो जिली क्रुजर-७०० रहेको छ । त्यसपछि जेटोर जी-७०० र सबैभन्दा महँगो याङवाङ यू८ छ ।
जिली क्रुजरको चीनमा मूल्य भेरियन्ट अनुसार १ लाख ७९ हजार ८०० देखि ३ लाख ६९ हजार ८०० युआनसम्म छ ।
जेटोर जी-७०० को मूल्य ३ लाख २९ हजार ९०० देखि ४ लाख ४२ हजार ९०० युआन र बीवाइडी याङवाङको मूल्य १० लाख ८ हजार युआन रहेको छ ।
समग्रमा हेर्दा, प्रिमियम प्रविधि र इन्डिपेन्डेन्ट मोटरका कारण बीवाइडी याङवाङ यू ८ राम्रो देखिन्छ । मूल्य र नयाँ पुस्ताको एआई तथा वाटर टेक्नोलोजीको संयोजन खोज्नेको लागि जिली क्रुजर ७०० र अफरोड क्षमता तथा नदी पार गर्ने प्रदर्शनका लागि जेटोर जी-७०० आकर्षक विकल्प रहेको देखिन्छ ।

