लिपमोटरको बिक्रीमा रेकर्ड, नाफा भने ७३ प्रतिशत घट्यो

काठमाडौं । लिपमोटरको खुद नाफा चालु वर्षको तेस्रो त्रैमासमा ७३ प्रतिशतभन्दा बढीले घटेको छ । कच्चा पदार्थको बढ्दो मूल्य र बिक्री भएका गाडीको मोडल मिश्रणमा आएको परिवर्तनका कारण कम्पनीको नाफामा ठूलो गिरावट आएको हो ।

लिपमोटरले अहिलेसम्मकै उच्च संख्यामा गाडी बिक्री गरे पनि नाफामा भने ठूलो गिरावट भोगेको छ । कम्पनीले गत शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासमा सेयरधनीलाई प्राप्त खुद नाफा ४ करोड युआन (करिब ५९ लाख ६० हजार अमेरिकी डलर) रहेको देखाएको हो ।

सन् २०२६ को दोस्रो त्रैमासमा ६० करोड युआन खुद नाफा कमाएको लिपमोटरले तेस्रो त्रैमासमा ९३.३३ प्रतिशतले नाफा गुमाएको देखिन्छ । नाफासँगै कम्पनीको ग्रस मार्जिनमा पनि उच्च गिरावट आएको छ ।

अघिल्लो वर्षको तेस्रो क्वाटरमा ग्रस मार्जिन १४.५ प्रतिशत रहेकोमा ठ्याक्कै एक वर्षपछिको तेस्रो त्रैमासमा ग्रस मार्जिन १०.९ प्रतिशतमा सीमित भएको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमासमा ३ करोड युआन संचालन घाटा भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ करोड युआन संचालन नाफा थियो ।

आम्दानी र गाडी बिक्रीमा भने नयाँ रेकर्ड

नाफा घटे पनि कम्पनीको कुल आम्दानी र गाडी बिक्रीमा भने उल्लेख्य वृद्धि भएको छ । तेस्रो त्रैमासमा कम्पनीले गाडी बेचेर ३१ अर्ब ७० करोड युआन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बढी हो ।

सवारीसाधन तथा स्पेयर पाट्र्सको बिक्री बढ्दा कम्पनीको आम्दानीमा वृद्धि भएको हो । यस अवधिमा लिपमोटरले विश्व बजारमा कुल ३ लाख १० हजार ५२ युनिट सवारीसाधन डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८.३ प्रतिशतले बढी हो ।

कम्पनीको खर्चतर्फ पनि वृद्धि देखिएको छ । तेस्रो त्रैमासमा अनुसन्धान तथा विकास (आर एण्ड डी) मा १ अर्ब ४८ करोड युआन खर्च भएको छ । यो अघिल्लो वर्षको तुलनामा २२.३ प्रतिशतले बढी हो ।


Back_to_top