यामाहा एक्सएसआर १५५ को प्रियिमय भेरियन्ट नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । यामाहाले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । यामाहा नेपालले एक्सएसआर १५५ मोटरसाइकलको प्रियियम कलर अप्सनका रूपमा ‘ग्रिन’ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको नेपाल जापान फेस्टिभल कार्यक्रममा एक्सएसआर १५५ ग्रिन भेरियन्ट सार्वजनिक गरिएको हो ।

यो नेपालमा उपलब्ध एक्सएसआरको सबैभन्दा प्रिमियम कलर हो । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइड्सले ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यसमा अन्य केही परिवर्तन गरिएको छैन ।

यामाहाको एक्सएसआर १५५ नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै चर्चा पाउँदै गएको मोटरसाइकल हो । एक्सएसआर धेरैको रोजाइमा पर्नुको मुख्य कारण यसको पुरानो रेट्रो डिजाइन थिम, इन्जिन पर्फमेन्स र मोटरसाइकलमा पाइने आधुनिक फिचरहरू हो ।

यो मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै प्लेटफर्ममा निर्माण भएको हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ । यसमा क्लासिक स्टाइलका साथै मोर्डन टच पाउन सकिन्छ ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र गोल्डेन कलर अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, पूरा एलईडी लाइट, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायतका फिचरहरू पाउन सकिन्छ ।


Back_to_top