जरिवाना छुट दिएपछि दोब्बरले बढ्यो सवारी सम्बन्धी राजस्व

काठमाडौं । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा दिएको सवारी साधन कर तथा जरिवानामा छुटको राजस्व संकलनमा सकारात्मक प्रभाव परेको छ ।

प्रदेश सरकारले आर्थिक ऐन मार्फत पुरानो सवारी कर, नवीकरण दस्तुर र पुराना सवारीको लगत कट्टामा कर तथा जरिवाना छुट दिएको थियो । त्यसको सदुपयोग गर्दै सवारीधनीले धमाधम बक्यौता कर तिर्न थालेका हुन् ।

चालु आवको पहिलो त्रैमासिकमा सवारी सम्बन्धी राजस्व संकलन झण्डै दोब्बरले बढेको छ । प्रदेश लेखा नियन्त्रक र यातायात व्यवस्था कार्यालयको तथ्यांकानुसार चालु आवको असोज मसान्तसम्म सवारी सम्बन्धी विभिन्न शिर्षक (सवारी कर, चालक अनुमतिपत्र, ब्लु बुक नवीकरण, रुट परमिट लगायत)मा कुल ९९ करोड ९३ लाख ९० हजार २१७ रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत वर्षको सोही अवधिको तुलानमा ९६.१ प्रतिशत धेरै हो । गत वर्ष असोजसम्म कुल ५० करोड ९५ लाख २० हजार ३८५ रुपैयाँ राजस्व संकलन भएको थियो ।

समीक्षा अवधिमा सवारी साधन कर संकलन ७९.३ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तसम्म सवारी साधन करबापत कुल ४० करोड २ लाख २८ हजार ६५९ रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा बढेर ७१ करोड ७७ लाख ५२ हजार ४७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, चालु आवमा सवारी चालक अनुमतिपत्र र ब्लु बुक दस्तुरबाट २५ करोड ६८ लाख ७८ हजार ४०४ र यातायात क्षेत्रको अरू आम्दानीबाट २ करोड ४७ लाख ५९ हजार ३३५ रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।

जरिवाना तथा कर छुटको स्किमपछि वर्षौंदेखि नवीकरण नगरेका र जीर्ण भएर थन्किएका सवारीसाधनको लगत कट्टा गर्ने क्रम ह्वात्तै बढेको प्रदेशका यातायात कार्यालयहरूले जनाएका छन् ।

के केमा पाइन्छ छुट ?

कोशी प्रदेश आर्थिक ऐन, २०८३ अनुसार जति सुकै वर्षदेखि सवारी कर तथा नवीकरण दस्तुर नबुझाएको भए पनि सवारीधनीले पछिल्लो ३ वर्षको कर, दस्तुर र जरिवाना बुझाएमा त्यसअघिको बाँकी अवधिको जरिवाना पूर्ण रूपमा छुट पाउनेछन् ।

त्यस्तै, ५ वर्षभन्दा बढी कर तिर्न बाँकी रहेका वा २० वर्ष आयु पूरा भएका, दुर्घटनामा परी संचालनमा नरहेका सवारीको दर्ता खारेज गर्न चाहेमा चालु आर्थिक वर्ष २०८३र८४ को १ वर्षको सवारी कर मात्र बुझाए पुग्ने र बाँकी सम्पूर्ण पुरानो कर तथा जरिवाना छुट दिएको छ ।

सवारीधनीले यी छुट सुविधा आगामी जेठ मसान्सम्म पाउने छन् ।


Back_to_top