काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी)को पायोनियर बीवाइडीको बिक्री वर्षेनी बढ्दै गए पनि बजार हिस्सा भने घट्दै क्रममा छ ।
कम्पनीको बिक्री ५ वर्षमै २० गुणाले बढे पनि पछिल्लो ३ वर्ष यता लगातार बजार हिस्सा गुमाउँदै आएको हो । यस अवधिमै कम्पनीको कुल बजार हिस्सा ६ प्रतिशत बिन्दुले घटेको छ ।
नेपालमा औपचारिक रूपमा सन् २०१७ मा प्रवेश गरेको बीवाइडीले सन् २०२३ देखि लगातार वार्षिक रूपमा २ हजार युनिट बढी गाडी बिक्री गर्दै आएको छ । सन् २०२६ को साढे १० महिना (नोभेम्बर ११५सम्म) ४ हजार नाघिसकेको छ । तर, बजार हिस्सा भने घटेर २७ प्रतिशतमा झरेको छ । जबकि, ३ वर्ष अघि ३३ प्रतिशत सम्म पुगेको थियो ।
सन् २०२० मा नेपालको ईभी बजारमा बीवाइडीको कुल बजार हिस्सा ५.८ प्रतिशत मात्रै थियो । सो बेला नेपालमा वार्षिक १०० युनिट ईभी बिक्री हुँदैन्थे । सन् सन् २०२१ देखि नेपालमा ईभीको बिक्रीले रफ्तार समातेको हो । बजार बढेसँगै बीवाइडीको बजार हिस्सा बढेर सन् २०२४ मा सर्वाधिक ३२.८ प्रतिशत पुगेको थियो । त्यस यताभने लगातार घटेदै आएको हो ।
सन् २०२५ कम्पनीको बजार हिस्सा घटेर २९.३ र सन् २०२६ मा २७.१ प्रतिशतमा झरेको छ । जबकि, यी दुई वर्षमा कम्पनीले सन् २०२४ को भन्दा पनि धेरै संख्यामा गाडी बेच्न सफल भएको छ ।
आखिर किन घट्यो बजार हिस्सा ?
बीवाइडीको बजार हिस्सा घट्नुको कारण, कमजोर प्रदर्शन नभई नयाँ ब्राण्डको आक्रमक प्रवेश, बजारमा दर्जनौं विकल्प उपलब्ध हुनु र मूल्यमा प्रतिस्पर्धा रहेको छ । नयाँ ब्राण्डले आकर्षक मूल्यमा आधुनिक फिचर लोडेड ईभी ल्याइरहेका छन् । जसका कारण ग्राहकको ध्यान बीवाइडी बाहेक अन्य मोडलतर्फ पनि मोडिएको देखिन्छ ।
साथै, कम्पनीले बजारमा नयाँ मोडल विकल्प उपलब्ध गराउन नसक्दा पनि केही असर परेको देखिन्छ । कम्पनीले पछिल्लो १ वर्ष यता नयाँ मोडल ल्याएको छ । यही अवधिमा बीवाइडीका मोडलका दर्जन बढी प्रतिस्पर्धी भित्रिएका छन् । हाल नेपाली बजारमा टाटा, डोङफेङ, चेरी, चांगान, प्रोटोन लगायत मोडलले आफ्नो प्रभाव बढाइरहेका छन् । अरु ब्राण्डको हिस्सा बढ्दै जाँदा बीवाइडीको हिस्सामा संकुचन आएको हो ।
हाल नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डको कार उपलब्ध छन् । वार्षिक झण्डै १५ हजार युनिट ईभी बिक्री हुन थालेका छन् ।
कुन वर्ष कति बेच्यो ?
बीवाइडी नेपाल आएको ९ वर्ष भए पनि उल्लेख्य संख्यामा गाडी बेच्न थालेको ४ वर्ष मात्रै भएको छ । कम्पनीले सन् २०२२ देखि मात्रै चार अंकको संख्यामा गाडी बेच्न सफल भएको हो । कम्पनीले पछिल्लो ७ वर्षमा कुल साढे १३ हजार युनिट बढी ईभी बिक्री गरिसकेको छ ।
नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०१७ मार्चमा पहिलो पटक बीवाइडीको विद्युतीय एमपीभी ई ६ नेपाल भित्र्याएको थियो । सो बेला कम्पनीले ५ युनिट ई ६ नेपाल भित्र्याएको थियो ।
कम्पनीले सन् २०२२ अक्टोबरदेखि प्यासेन्जर कार बिक्री थालेसँगै रफ्तार समातेको हो । कम्पनीले सन् २०२० मा १५ युनिट, २०२१ मा ७१ र सन् २०२२ मा १९२ युनिट ईभी आयात गरेको थियो ।
सन् २०२३ देखि भने बीवाइडीको बिक्री लोभ लाग्दो छ । कम्पनीले सन् २०२३ मा कुल २१७८ युनिट, २०२४ मा ३५३६ युनिट, सन् २०२५ मा ३५४० र सन् २०२६ को (नोभेम्बर १५ सम्म) ४०६३ युनिट ईभी बिक्री गरेको छ ।
बिक्रीसँगै डिलर, सर्भिस सेन्टर र चार्जिङ पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जसकारण ब्राण्डप्रति ग्राहकको विश्वास बढ्दा वर्षैपिच्छे आफ्नो व्यापार बढाउन सफल भएको हो । हाल बीवाइडीको देशभर डेढ दर्जन बढी शोरुम, सर्भिस सेन्टर र ६० बढी चार्जिङ स्टेसन छन् ।
९ मोडल उपलब्ध
साइमेक्सले हाल बीवाइडीका ९ मोडल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले इन्ट्री लभेल ह्याचब्याकदेखि अल्ट्रा लग्जरी एसयूभीसम्म बिक्री गर्दै आएको छ । मूल्यका आधारमा ३१ लाखदेखि झण्डै ४ करोडसम्मका गाडी बिक्री गर्छ ।
बीवाइडीले एमपीभी, एसयूभी, सेडान र पिकअप गरी हालसम्म बीवाइडीका ११ मोडल नेपाल ल्याएको छ । सोमध्ये (डल्फिन र ई ६ बाहेक) अरू मोडल हाल बिक्री गरिरहेको छ । हाल बीवाइडीका एम ६, एटो ३, एटो २, एटो १, सिलायन ७, डेन्जा डी ९, बी५, बी८, सिल, शार्क र एम ६ मोडल उपलब्ध छन् ।

