काठमाडौं । नेपाल भारत दोस्रो पेट्रोलियम पाइपलाइन निर्माण सुरू भएको छ । भारतको सिलिगुडीदेखि नेपालको झापा (चारआली)सम्म ५० किलोमिटर लामो पाइपलाइन निर्माण थालिएको हो ।
सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा झापामा ग्रिनफिल्ड आयल स्टोरेज टर्मिनलको शिलान्यास गरेका हुन् ।
यस परियोजना अन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर (भारततर्फ ३६ र नेपालतर्फ १४ किमि) लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार जमिन मुनि बछ्यिाइने पाइप ८ इन्च व्यासको रहेको छ ।
साथै, चारआलीमा अत्याधुनिक ग्रिनफिल्ड टर्मिनल बन्नेछ । जहाँ पेट्रोलका लागि ६ हजार ६०० किलोलिटर र डिजेलका लागि १२ हजार ३०० किलोलिटर क्षमताका भर्टिकल ट्यांकी निर्माण गरिने छ ।
यो परियोजना भारत सरकारको पूर्ण अनुदानमा निर्माण हुनेछ । पाइपलाइन र झापामा आधुनिक भण्डारण गृह निर्माण भएसँगै कोशी प्रदेशलगायत पूर्वी नेपालका जिल्लाहरूमा पेट्रोलियम पदार्थको ढुवानी खर्च घट्ने र आपूर्ति प्रणाली थप भरपर्दो बन्नेछ ।
यसअघि २०७६ मा भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सम्पन्न गरिएको थियो । उक्त परियोजना विस्तार गरी हाल अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माणको काम भइरहेको छ ।
प्रधानमन्त्री बालेनको भ्रमणकै क्रममा मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण (एमएपीएल फेज २) अन्तर्गतका संरचनाहरू हस्तान्तरण गरिएको छ । दोस्रो चरणमा ४,१०० किलोलिटर क्षमताका दुईवटा पेट्रोल ट्यांक, २४ बेको स्वचालित ट्यांक-ट्रक लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम, गुणस्तर नियन्त्रण प्रयोगशाला तथा अग्नि नियन्त्रण सुविधाको निर्माण तथा स्तरोन्नति गरिएको निगमले जनाएको छ ।
यो परियोजना सम्पन्न भएसँगै अमलेखगन्ज नेपालकै पहिलो अत्याधुनिक टर्मिनल बनेको छ । सन् २०१५ मा नेपाल सरकार र भारत सरकार बीच भएको जीटुजी सम्झौता तथा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीच भएको जीटुबी सम्झौता अनुसार यो परियोजना निर्माण गरिएको हो ।

