चीनले बनायो पखेटा बिनै उड्ने कार, परीक्षण सफल

काठमाडौं । चीनले पखेटा बिनै उड्ने कारको सफल परीक्षण उडान गरेको छ । चीनको हुनान प्रान्तस्थित चाङ्सामा उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफल उडान भरेको हो ।

यद्यपि, यो कार निर्माता कम्पनी र मोडलको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नरहेको यो कार व्यक्तिगत हवाई यातायातका लागि नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ ।

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी-स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । उक्त प्रणालीले हावाको प्रवाह र बललाई निर्देशित गरी उडान भर्न, हावामै स्थिर रहन र उड्न मद्दत गर्छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

यो कारमा एक जना मात्रै यात्रु बस्न मिल्छ । यसको प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ ।

यो उड्ने कारले हावामा प्रतिघण्टा १५० किलोमिटरसम्म र सडकमा प्रतिघण्टा ८० किलोमिटरसम्मको गति लिन सक्छ । यसको अधिकतम रेन्ज ३०० किलोमिटर रहेको छ ।

यो नयाँ उड्ने कार सार्वजनिक भएसँगै चीनले उन्नत हवाई यातायात प्रविधिमा लगानी बढाइरहेको विषय पनि चर्चामा आएको छ । उद्योग क्षेत्रका विज्ञहरूले यस्ता नवीन प्रविधिलाई भविष्यमा सहरी यातायात र छोटो दूरीको हवाई यात्राका लागि सम्भावित विकल्पका रूपमा हेरेका छन् ।

व्यावसायिक रूपमा प्रयोगमा आउने क्रम अझै सीमित रहे पनि विभिन्न देशमा उड्ने सवारी साधन सम्बन्धी प्रविधि तीव्र गतिमा विकास भइरहेको छ ।


Back_to_top