काठमाडौं । सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस)लाई एकीकृत गर्ने प्रस्ताव गरेको छ ।
भन्सारबाट वैधानिक रूपमा आयात भएका मालसामान ढुवानीकै क्रममा बीच बाटोमा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न यस्तो प्रस्ताव अघि सारिएको हो ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भन्सार प्रज्ञापनपत्र स्वीकृत हुने बित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रस्तुत गरे । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको स्मरण गराए ।
यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरण बीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
‘भेहिकल ट्रयाकिङ सिस्टम भन्सारबाट वैध रूपमा प्रज्ञापनपत्रमार्फत आएका सामानको आन्तरिक ढुवानीका क्रममा बीच बाटोमा अन्य सामान थप्ने वा अनलोड गर्नेजस्ता गतिविधि नियन्त्रण गरी ढुवानीलाई ट्रयाक गर्न विकास गरिएको हो । यस प्रणालीलाई थप प्रभावकारी बनाउन भन्सार प्रज्ञापनपत्र अनलाइन प्रणालीसँग भेहिकल ट्रयाकिङ सिस्टम आबद्ध गर्न आवश्यक छ । भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण भेहिकल ट्र्याकिङ सिस्टममा स्वतः प्रविष्ट हुने व्यवस्था गर्न सकिन्छ,’उनले भने ।
आन्तरिक उत्पादनका सामानका हकमा भेहिकल ट्रयाकिङ सिस्टममा विवरण प्रविष्ट गर्ने र भन्सारबाट आएका सामानका हकमा भन्सार सूचना प्रणालीसँग आबद्ध गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि स्पष्ट पारे । भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि १ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उनले बताए । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानूनी व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ ।
आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनको सुझाव छ।

