काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल निर्माता हुन्डाईले भारतमा आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी ‘आयोनिक पी’ सन् २०२७ जनवरी १६ मा सार्वजनिक गर्ने भएको छ ।
अटोकार इण्डियाका अनुसार हुन्डाईको लाइनअपमा क्रेटा इलेक्ट्रीकभन्दा तल रहने यो एसयूभी जवनरी १६ मा लन्च हुने भएको हो । यद्यपि, कम्पनीले भने आधिकारिक घोषणा गरेको छैन ।
आयोनिक पीको मूल्य भने फेब्रुअरी ४ देखि ९ सम्म आयोजना हुने अटो एक्स्पो २०२७ मा घोषणा हुन सक्नेछ । आयोनिक पीले टाटा नेक्सन ईभी, किया सिरोस ईभी र महिन्द्रा एक्सयूभी ३ एक्सओ ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
आयोनिक पी यसअघि परीक्षणका क्रममा पटक पटक भारतीय सडकमा देखिइसकेका छन् । यसले हुन्डाई भेन्यूसँग मिल्दोजुल्दो बक्सी र अग्लो डिजाइन पाउने संकेत गरेको छ ।
यसमा अगाडि र पछाडि एलईडी लाइट बार, वर्गाकार आकारका हेडलाइट, छोटो ओभरह्याङ, सामान्य बडी क्ल्याडिङ, बाहिर निकाल्न मिल्ने डोर ह्याण्डल, ठूला रूफ रेल, बाक्लो डी-पिलर र दुईवटा उठेका भाग भएको रूफ स्पोइलरजस्ता डिजाइन विशेषता रहने अपेक्षा गरिएको छ ।
आयोनिक पी हुन्डाईको ग्लोबल ई जीएमपी (के) प्लेटफर्ममा आधारित हुनेछ । यसमा हुन्डाई इनस्टर ईभीको जस्तै ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध हुने सम्भावना छ । यी ब्याट्रीले डब्लूएलटीपी परीक्षण मापदण्ड अनुसार क्रमशः ३०० किलोमिटर र ३५५ किलोमिटर रेन्ज प्रदान गर्छन् । कम्पनीले आयोनिक पीलाई स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा ल्याउने छ ।
आयोनिक पीको इन्टेरियरमा हुन्डाईले यसै वर्ष सार्वजनिक गरेको नयाँ प्लेओस कनेक्ट इन्टरफेस उपलब्ध हुने सम्भावना छ । नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम, लेभल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम लगायतका प्रविधि उपलब्ध हुनेछ ।
नेपाली बजारका लागि पनि आयोनिक पी उपयुक्त हुने देखिन्छ । चिनियाँ ईभीको दबदबा रहेको बजारमा आयोनिक पी नयाँ विकल्पको रुपमा आउने छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक पीलाई प्रतिस्पर्धी मूल्य, उपयुक्त ब्याट्री विकल्प र आकर्षक टेक्नोलोजी भएको गाडी बजारमा प्रस्तुत गर्न सके बजारमा बलियो उपस्थिति जनाउन सक्छ ।

