हुन्डाई कोना किन्ने कि क्रेटा, कुन किन्दा बढी फाइदा

काठमाडौं । धेरै मानिसले इन्धन वचत र मर्मत संभारमा खर्च कम लाग्ने भन्दै इलेक्ट्रीक कार किन्न सुरु गरेका छन् । भनौ, अहिले नेपाली बजारमा इलेक्ट्रीक कारको लहर नै आएको छ ।

अहिले बजारमा महिन्द्रा, किया, हुन्डाई, बिवाइडी, प्यूजो र चिनीयाँ ब्रान्ड दायका गाडीहरु बिक्री वितरण हुँदै आएका छन् । गाडी उत्पादनमा अहिलेसम्मकै सबैभन्दा महंगो टेक्नोलोजी इलेक्ट्रीक रहेको छ भने, सबैभन्दा सस्तो टेक्नोलोजी कम्वस्चन इन्जिन युक्त गाडीको रहेको छ ।

सबैभन्दा महंगो टेक्नोलोजीका बाबजुद इलेक्ट्रीक गाडी नेपाली बजारमा भने सस्तो रहेको छ । नेपाल सरकारले कम्बस्चन इन्जिन युक्त गाडीमा लगभग २५० प्रतिशत कर लगाएको छ भने इलेक्ट्रीक कारमा २७ प्रतिशत मात्र कर लगाएको छ । त्यसैले इलेक्ट्रीक कारहरु कम मूल्यमा पाइन्छ ।

यहाँ इलेक्ट्रीक गाडी र कम्बस्चन इन्जिन युक्त गाडीले प्रयोग गर्ने इन्धन खर्चको विषयमा केही तथ्य राख्न खोजिएको छ । जसले कुन सवारीसाधनले कति रकम बचत छ भन्ने विषयलाई केही हदसम्म प्रस्ट पार्ला ।

अहिलेको बिजुलीको मूल्य र पेट्रोलको मूल्यलाई आधार बनाएर यहाँ प्रस्तुत गरिएको छ । अहिले हामी कहाँ बिजुलीको मूल्य १० रुपैयाँ प्रतियूनिट रहेको छ भने पेट्रोलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेको छ ।

यस्तोमा हामीले यहाँ हुन्डाई कोना ३९.२ किलोवाट व्याट्री प्याक भएको क्रसओभर र हुन्डाई कै सर्वाधिक सफल कार क्रेटाबीचमा यसले गर्ने इन्धन खर्चलाई यहाँ देखाउने प्रयास गरेका छौँ ।

हुन्डाईको १५९१ सीसी क्षमताको इन्जिन युक्त गाडी क्रेटाको एसएक्स मोडलको नेपाली बजारमा मूल्य ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ भने कोना ३९.२ किलोवाट व्याट्री युक्त गाडीको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

सुरुमा किन्दा क्रेटा एसएक्स मोडल कोनाभन्दा २ लाख रुपैयाँ सस्तो रहेको छ ।

क्रेटाले प्रतिलिटर १० किलोमिटर माइज दिने कारधनीहरुले बताउने गरेका छन् । यसरी हेर्दा क्रेटामा यात्रागर्दा प्रतिकिलोमिटर १० रुपैयाँ ८० पैसा खर्च आउने छ । अब कुरा गरौ, कोनाको ३९.२ किलोवाटको व्याट्री एक पटक फुल चार्ज गर्न ३९ यूनिट बिजुली खर्च हुन्छ । अहिलेको बजार मूल्यका अनुसार ३९ यूनिटको बिजुली मूल्य ३९० रुपैयाँ पर्न आउँछ ।

एक पटकको फुलचार्जमा कोनाले औषतमा ३०० किलोमिटरको माइलेज दिदा प्रतिकिलोमिटर खर्च १ रुपैयाँ ३० पैसा मात्र पर्न आउँछ । यदि तपाई वार्षिक १५ हजार किलोमिटर यात्रा गर्नु हुन्छ भने तपाईले पेट्रोल गाडीमा कम्तीमा १५०० लिटर पेट्रोल खर्च गर्नु पर्ने हुन्छ । आजको बजार मूल्य अनुसार पेट्रोल किन्दा १ लाख ६२ हजार रुपैयाँ खर्च हुन्छ ।

इलेक्ट्रीक कोनाले १५ हजार किलोमिटर गुड्दा १ हजार ९५० यूनिट बिजुली खपत गर्छ । आजको बिजुलीको मूल्य प्रतियूनिट १० रुपैयाँ हुँदा वार्षिक १९ हजार ५०० रुपैयाँको विद्युत खपत हुने देखिन्छ ।   

यसरी हेर्दा क्रेटाको तुलनामा वार्षिक इन्धन वापतको रकम वचतको मामलामा कोनाले १ लाख ४२ हजार ५०० रुपैयाँ बचत गर्ने देखिन्छ । 

यहाँ विचार गर्नु पर्ने कुरा के हो भने क्रेटाले हरेक किलोमिटरमा धेरै खर्च गराउँछ भने कोनाको संचालन लागत एकदमै कम परेपनि व्याट्री परिवर्तन गर्न धेरै ठूलो रकम लाग्ने हुँदा एकै पटक ठूलो आर्थिक भार भने ल्याउने छ ।


Back_to_top