जावा अहिले भारतीय बजारमा निकै चर्चित मोटरसाइकल हो । जावाले भारतमा आफ्नो उत्पादन बिक्री सुरु गरेसँगै ग्राहकले निकै रुची पूर्वक बुकिङ गरेका थिए । यद्यपी कम संख्यामा उत्पादनको कारण जावा किन्न चाहनेले करिब ४ देखि ६ महिना कुर्नु पर्ने अवस्था रहेको छ ।
यस्तोमा कम्पनीले आफ्नो बबर मोटरसाइकल ‘जावा पेराक’ भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । उक्त बाइकलाई कम्पनीले यसअघि जावा र जावा ४२ सार्वजनिक गर्ने समयमा नै देखाएको थियो ।
कम्पनीले यसमा पुरानै इन्जिन दिएको भएपनि यसको पावर भने केही बढी रहेको छ । ३३२ सीसी, सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।
जावा पेराकलाई कम्पनीले म्याट व्ल्याक कलरको साथ फिउल ट्याङकमा गोल्ड हाइलाइट्स सहित ल्याउने छ । सिंगल बबर स्टाइल सिट यसको मुख्य आर्कषण हो ।
जावामा भारतीय अटो उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्रले लगानी गरेसँगै भारतीय बजारमा प्रबेश गरेको थियो । नेपाली बजारमा पनि अबको केही महिनामा जावाले प्रबेश पाउने बुझिएको छ ।

