नगरपालिकाले सुरु गर्यो, सिद्धार्थ राजमार्ग बिस्तारको काम

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गसहित नगरभित्रका अन्य सडकलाई चौडा बनाउन शुरु गरेको छ । 

नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी सोमबारदेखि गरेको हो । नगरपालिकाले यसअघि सडक विभागको डोजरको सहायता तथा नगरपालिकाको इन्धन र अन्य टिपरको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको भाग १२ किलोमिटर चौडा गरिसकेको छ । 

“‘स्मार्ट सिटी’ निर्माणका लागि आवश्यक पर्ने चार वटा स्तम्भमध्येको एउटा स्तम्भका रूपमा ‘स्मार्ट इन्फ्रास्ट्रक्चर’ लाई लिएका छौँ जसभित्र ‘फिजिकल इन्फ्रास्ट्रक्चर’ भित्र सडक राखेका छौँ”, नगरप्रमुख दिलीपप्रताप खाँणले भने । 

मापदण्डअनुसारका सडक निर्माण गर्न नगरभित्र रहेका सडकलाई चौडा बनाउन थालीएको उनले बताए । 

करीब रु ८२ करोडको लागतमा ‘डेडिकेटेड टु लेन’ को सडक तथा सडकको किनारामा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पेश गरिएको नगर प्रमुख खाँणले जानकारी दिए । 

“वालिङमा दिनप्रति दिन सवारी साधन तथा मानिसको चाप बढ्दो क्रममा छ । दुर्घटना भइसकेपछि पछुताउनुभन्दा दुर्घटना हुन नदिन अथवा दुर्घटना न्यूनीकरणका लागि सजगता अपनाउँदै सडक चौडा गर्ने कार्यलाई प्राथमिकतासाथ अगाडि बढाइएको हो”, उनले भने ।  

हाल एउटा डोजरको प्रयोगबाट शुरु गरेको कार्यलाई केही दिनमै अन्य डोजर पनि थप गरी विस्तार कार्यलाई समयभित्रै सक्ने योजना नगरपालिकाको रहेको छ । 

“नगरभित्र पर्ने सिद्धार्थ राजमार्गका घुम्ती तथा साँघुरो भएका सडकलाई विस्तार गर्ने तथा नगरभित्रका विभिन्न सहायक सडकलाई पनि मापदण्डअनुसार निर्माण गर्छौं” नगर प्रमुख खाँणले भने । 


Back_to_top