काठमाडौं । चिनियाँ न्यू इनर्जी अटोमोबाइल कम्पनी बीवाइडीले १०० किलोवाट क्षमताको मोटर भएको एटो थ्रीको नयाँ भर्सन विक्री सुरू गरेको छ । कम्पनीले शुक्रबारदेखि सिंगापुरमा १०० किलोवाटको ‘एटो थ्री’ विक्री सुरू गरेको हो ।
यसअघि विक्री भइरहेको एटो थ्रीमा १५० किलोवाट मोटर रहेको छ भने नयाँ भर्सनमा १०० किलोवाटको मोटर रहेको छ । नेपालमा जस्तै सिंगापुरमा पनि मोटर पावरको आधारमा भन्सारदर निर्धारण गरिने भएकोले बीवाइडीले सिंगापुर तथा नेपालको लागि एटोथ्री १०० किलोवाट मोडल बनाएको हो ।
मोटर पावर घटेको भएता पनि यो मोडलमा पहिलो १५० किलोवाट मोटरमा भएजस्तै सम्पूर्ण सेफ्टी र टेक फिचरहरू रहेको छ । यो मोडलमा पनि ६०.५ किलोवाट आवरको ब्लेड ब्याट्री दिएको छ । यसको डिजाइन पनि बीवाइडीको ई–प्ल्याटफर्म ३.० मै बनेको हो ।
यसको चार्जिङ टाइम पनि ५० किलोवाटको डीसी फास्ट चार्जरबाट २० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा ४५ मिनेट लाग्नेछ । एटो थ्रीमा नयाँ १०० किलोवाटको मोटर आएपछि यसको पावर भने केहि घटेको छ । नयाँ मोटरको पावर अब १३४ ब्रेक हर्सपावरको हुनेछ । जुन १५० किलोवाट मोटरमा २०१ ब्रेकहर्स पावर रहेको थियो ।
त्यस्तै, कम पावरको मोटर भएकाले एटोथ्री १०० ले शून्यबाट १०० किलोमिटरको स्पीडमा पुग्न अब ९.७ सेकेन्ड लाग्ने भएको छ जुन पुरानो मोटरमा भन्दा २.४ सेकेन्डले बढि हो ।
नयाँ क्षमताको मोटर तथा पुरानै क्षमताको ब्याट्रीको कन्फिगरेसनका कारण यसको रेन्ज पनि उल्लेखनीय मात्रामा बढेको छ । अब एक पटकको फुलचार्जमा डब्ल्यूएलपीटीको सिटी ड्राइभको अनुसार अधिकतम ५६५ किलोमिटर रहने छ जुन पहिलाको मोडलमा ४८० किलोमिटर मात्र रहेको थियो ।
नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पनि एटोथ्री १०० को छिट्टै डेलीभरी दिने भएको छ । कम्पनीले केही समय अगाडि नै ६४ लाख ९० हजार मूल्य राखी बुकिङ लिइरहेको छ । १५० किलोवाट मोटरको मूल्य भने ८९ लाख ९० हजार रुपैयाँ रहेको थियो ।