डल्फिनको बिक्री १० लाख पूरा, नेपालमा अहिलेसम्म कति बिक्यो ?

काठमाडौं । बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फिनको बिक्री १० लाख युनिट पूरा भएको छ । चीन ब्राजिल र युरोपमा निकै राम्रो बिक्री पाएको डल्फिन प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध कार हो ।

चिनियाँ उत्पादकले ओसियन सिरिजमा ल्याएको डल्फिन सन् २०२१ को अगस्ट २९ बाट चिनियाँ बजारमा बिक्री सुरू भएको थियो । नेपालमा भने २०२३ मा डल्फिन आएको हो । नाडा अटो शो २०२३ मा डल्फिन ह्याचब्याक लन्च भएको थियो ।

बीवाइडीको ई प्लेटफर्म ३.० मा बनेको डल्फिन आकर्षक मूल्यमा उपलब्ध मोडल हो । यसको लम्बाइ ४२८० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम छ ।

कम्पनीले ग्लोबल मोडलको रूपमा बिक्री गर्दै आएको डल्फिन अन्तर्राष्ट्रिय बजारमा ४५ र ६० किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ । नेपालमा भने ४५ किलोवाट आवरको ब्याट्रीमा मात्रै किन्न पाइन्छ ।

बजारमा आएदेखि नै राम्रो संख्यामा बिक्री भइरहेको डल्फिन नोभेम्बर २०२५ मा ३० हजार ९७१ युनिट बिक्री भएको थियो । यो वर्षको ११ महिनामा २ लाख १४ हजार ८९५ युनिट डल्फिन बिक्री भएको कम्पनीले जनाएको छ । उक्त संख्या बीवाइडीको कुल बिक्रीको ५.१४ प्रतिशत हो ।

डल्फिन अगाडि बीवाइडीको सिगल र सोङ प्लस मोडलको बिक्री १० लाख युनिट पुगिसकेको छ । डल्फिन कम्पनीको १० लाख युनिट बिक्री पूरा गर्ने तेस्रो मोडल हो ।

अहिलेसम्म नेपालमा कति आयो ?

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२३ को सेप्टेम्बरमा नेपाल ल्याएको डल्फिन ह्याचब्याक अहिलेसम्म २ हजार ४४१ युनिट आयात भएको छ ।

सन् २०२३ को चार महिनामा ५५१ युनिट आयात भएको डल्फिन ह्याचब्याक २०२४ मा १ हजार ३५५ युनिट आयात भयो । सन् २०२३ र २४ मा इलेक्ट्रीक ह्याचब्याक कार सेग्मेन्टमा डल्फिनले ६० प्रतिशत बजार हिस्सा ओगटेको थियो ।

सन् २०२५ लागेसँगै डल्फिनको आयात कमजोर बनेको छ । यस वर्ष ५३५ युनिट डल्फिन आयात भएको छ । साइमेक्स इंकले एटो वान र एटो टु बजारमा ल्याएसँगै डल्फिन ह्याचब्याक कारको बिक्री केही स्लो भएको हो ।


Back_to_top