काठमाडौं । भारतको दिल्ली प्रदेश सरकारले ३० लाख भारु भन्दा कम मूल्य पर्ने विद्युतीय सवारी साधन (ईभी)मा लाग्ने सडक कर र दर्ता शुल्क पूरै छुट दिने भएको छ ।
दिल्ली सरकारले शनिबार सार्वजनिक गरेको आफ्नो विद्युतीय सवारी नीति २०२६-२०३० को मस्यौदामा यस्तो उल्लेख गरिएको हो ।
नयाँ ईभी नीति अनुसार राष्ट्रिय राजधानी (दिल्ली)मा दर्ता भएका ३० लाख रुपैयाँ वा सोभन्दा कम (एक्स शोरूम) मूल्यका सबै विद्युतीय सवारीमा ३१ मार्च २०३० सम्म सडक कर र दर्ता शुल्कमा १०० प्रतिशत छुट दिइने छ।
३० लाख भारु माथि मूल्य पर्ने ईभीमा भने कुनै छुट नदिइने उल्लेख गरिएको छ । दिल्ली सरकारको नयाँ नीतिले बजारमा ठूलो संख्यामा बिक्री भएकारहुने सस्ता र मध्यम मूल्यका ईभीलाई फाइदा पुुग्नेछ । प्रिमियम विद्युतीय सवारी साधनहरूले भने लाभ पाउने छनैन ।
त्यस्तै, दिल्ली सरकारले हाइब्रिड सवारी साधनलाई पनि प्रोत्साहन गरेको छ । ३० लाख भारुभन्दा कम मूल्यका हाइब्रिड सवारी साधनहरूको लागि सडक कर र दर्ता शुल्कमा ५० प्रतिशत छुटको प्रस्ताव पनि गरिएको छ ।
नीतिले सार्वजनिक यातायातको विद्युतीकरणको लागि स्पष्ट दिशा कोरेको छ । १ जनवरी २०२७ देखि दिल्लीमा विद्युतीय तीनपाँग्रे सवारी साधनहरू मात्रै दर्ता गर्न अनुमति दिइनेछ । जसले शून्य उत्सर्जन गतिशीलतातर्फको संक्रमणलाई अझ तीव्र बनाउँछ।
भारतको ईभी बजारमा पहिले नै बलियो वृद्धि देखिएको छ । आर्थिक वर्ष २०२६ मा विद्युतीय कारको बिक्री वार्षिक रूपमा लगभग ८४ प्रतिशत ले बढेर लगभग २ लाख युनिट पुगेको छ। यसको तुलनामा सोही अवधिमा बलियो हाइब्रिड बिक्री ३५ प्रतिशतले बढेर लगभग १.१२ लाख युनिट पुगेको छ।
मस्यौदामा लेखिएको छ, ‘दिल्ली विद्युतीय सवारी नीति २०२६-२०३० ले विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्रता दिन, हावाको गुणस्तर सुधार गर्न र विद्युतीय यातायातका लागि एक सहयोगी वातावरण तयार गर्न मद्दत गर्नेछ। यो नीति सूचना जारी भएको मितिदेखि लागू हुनेछ ।’
एक आधिकारिक आदेश अनुसार दिल्ली सरकारले आगामी ३० दिनका लागि यस मस्यौदा नीतिमा सर्वसाधारणबाट सुझाव र प्रतिक्रियाहरू मागेको छ ।
यो नयाँ नीति आम आदमी पार्टी सरकारले २०२० अगस्टदेखि सुरु गरेको ईभी नीतिको निरन्तरता हो । उक्त नीतिको उद्देश्य सवारी साधनबाट हुने प्रदूषण कम गर्नु र दिल्लीमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिनु हो । यस नीतिको सुरुवाती ३ वर्षको अवधि अगस्ट २०२३ मा समाप्त भएको थियो । त्यसबेलादेखि सरकारले यसलाई समय समयमा थप्दै आएको छ।

