काठमाडौं महानगरले कार्यान्वयनमा ल्यायो ‘कार पुलिङ’ प्रणाली

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई मध्ये नजर गर्दै महानगरले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने (कार पुलिङ) प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको बताइन् ।

‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं,’ डंगोलले भनिन् ।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । ‘कार पुलिङ्’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ ।

यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो संचालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ ।


Back_to_top