यति बढ्ने भयो सर्वाधिक बिक्ने यी ५ बाइकको मूल्य

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटबाट सीसीको आधारमा मोटरसाइकलमा कर लगाएसँगै नेपाली बजारमा मोटरसाइकलको मूल्य वृद्धि हुने भएको छ । 

१५० सीसीसम्मको बाइकमा सडक दस्तुर बाहेक अन्य कुनै कर थप गरिएको छैन भने, १५१ सीसीदेखी २५० सीसीसम्मका बाइकमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ । यस्तोमा नेपाली बजारमा युवाहरुको रोजाइमा रहेका प्रमुख ५ वटा बाइकमा मूल्य वृद्धि हुने भएको छ । 

अहिले नेपाली बजारमा २ लाख ९३ हजारदेखि ४ लाख ६४ हजारसम्ममा विक्री भइरहेका यस्ता बाइकको मूल्य १७ हजारदेखि झण्डै २२ हजारसम्म बढ्ने अनुमान सुरू भएकाे छ । 

याे पनि पढ्नुस्ः शासकको सवारीः हिटलरको सोचले जन्माएको विश्व चर्चित कार ब्रान्ड

यी १५० सीसीदेखि २५० सीसीसम्मका बाइकमा सडक कर ६ हजार रुपैयाँले बढी तिर्नुपर्ने छ । यसअघि १२ हजार रहेको सडक कर अहिले १८ हजार बनाइएको छ । यसअघि मोटरसाइकल आयातमा सरकारले भन्सार ३० प्रतिशत, ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लिर्दै आएको थियो । 

अब अन्तःशुल्क भने ५० प्रतिशत लाग्ने छ । भन्सार र भ्याटमा कुनै परिर्वतन गरिएको छैन । 

यी ५ बाइक युवाको रोजाईमा

पल्सर २२० 

युवाहरुको रोजाईमा सबैभन्दा बढी परेको बाइक हो पल्सर २२० सीसी । पल्सर नेपालमा सर्वाधिक बिक्री हुने बाइक पनि हो । ८५०० आरपीएममा २०.६५ बिएचपी र ७००० आरपीएममा १८.५५ टर्क उत्पादन गर्ने यो बाइकले ४० किलोमिटर माइलेज दिने उत्पादकले दाबी गरेका छन् । 

नेपाली सडकमा सर्वाधिक गुड्ने यो बाइकको पिकअपले युवालाई आर्कषित गर्ने गरेको छ । अहिले यसको नेपाली बजारमा २ लाख ९३ हजार ९०० रुपैयाँ मूल्य तोकिएको छ । अब यसको मूल्य करिब १५ देखि २० हजारको हाराहारीमा बढ्ने अनुमान लगाउन सकिन्छ ।

‘अहिले हामीले लागत हिसाब गरिसकेका छैनौ, अबको केहि दिनमा पुरा हिसाब हेरेर मूल्य तोक्ने तयारीमा छौं । अहिले अनुमान मात्रै हो, त्यो अनुमान अनुसार करिब १५ देखि २० हजार हाराहारीमा मूल्य बढ्ने छ’ बजाजको लागि नेपालको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले मेरोअटोसँग भने ।  

अपाचे आरटिआर २००

अपाचे आरटिआर २०० सिसिको मोटरसाइकल पछिल्लो समयमा युवा माझ लोकप्रिय हुदै गइरहेको छ । यसको उच्च पिकअप क्षमताका कारण यसमा युवा आकर्षण रहेको पाइन्छ । 

९००० आरपीएममा २०.७ बिएचपी र ७००० आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्ने यो बाइकले ४१ किलोमिटर माइलेज दिने उत्पादकले दाबी गरेका छन् ।

हाल नेपाली बजारमा यसको मूल्य २ लाख ९१ हजार ९ सय रहेको छ । यसमा पनि लगभग २० हजार रुपैयाँले मूल्य बढ्ने अनुमान रहेको छ । 

‘हामीसँग अहिले पुरानो बाइक नै छ, अहिले पुरानै मूल्यमा बेच्दै छौ, अबको केहि दिनमा नयाँ आउने र मूल्य तोकिने छ । हाम्रो अहिलेको हिसाबमा करिब २० हजार मूल्य बढ्छ होला’ नेपालको लागि टिभिएस मोटरसाइकलको आधिकारी बिक्रेता जगदम्बा माेटर्सका भाइसप्रेसिडेन्ट दिपक अग्रवालले मेरोअटोसँग भने । 

केटिएम डुक २००

नेपाली युवाहरुमाझ राइड तथा स्टन्टको आकर्षण बढ्दो छ । हाल नेपालमा केटिएम डुक चालकहरु ग्रुपनै बनाएर स्टन्ट देखाउने तथा राइड जाने गरेको पाइन्छ । ६ गियर रहेको केटिएम डुक २००ले १० हजार आरपीएममा २४.६ बिएचपी र ८००० आरपीएममा १९.२ एनएम टर्क उत्पादन गर्छ । यो बाइकले ३५ किलोमिटर माइलेज दिने उत्पादकले दाबी गरेका छन् ।

रेसिङमा रमाउने युवाहरुको पहिलो रोजाइमा आउने केटिएम डुक २०० को अहिलेको बजार मूल्य ४ लाख ६४ हजार ९ सय रहेको छ । यसमा पनि करिब २० हजारको हाराहारीमा मूल्य बढ्ने कम्पनीले जनाएको छ । 

पल्सर एनएस २००

पल्सर एनएस बाइक किन्नु बजारमा खासगरी सहरी क्षेत्रमा ट्रेण्डकै रुपमा रहेको छ । २०० सिसिमा रहेको यो बाइक स्पोर्टी लुक्स र उच्च पिकअपले युवा वर्गलाइ निकै आर्कषित गरेको छ । ९५०० आरपीएममा २३.२ बिएचपी र ८००० आरपीएममा १८.३ टर्क उत्पादन गर्ने यो बाइकले ३६ किलोमिटर माइलेज दिने उत्पादकले दाबी गरेको यस बाइकमा ६ गियर रहेको छ ।

अहिले नेपाली बजारमा २ लाख ९५ हजार ९०० रहेको छ । यसमा पनि करिब २० हजार रुपैयाँ मूल्य बढ्ने अनुमान कम्पनीले गरेको छ । 

एफजेड २५

यमाहाको एफजेड २५ले पछिल्लो समय युवाहरुको मन जित्न सफल भएको छ । २४९ सिसिको यो बाइक १४१ किलोमिटर प्रति घण्टा कुद्ने क्षमता राख्दछ । अहिले युवाहरुमाझ लोकप्रिय बन्न सफल भएको छ । ८००० आरपीएममा २०.३ बिएचपी र ६००० आरपीएममा २० टर्क उत्पादन गर्ने यो बाइकले ३९ किलोमिटर माइलेज दिने उत्पादकले दाबी गरेका छन् ।

३ लाख ५८ हजार ९०० मुल्य रहेको यो बाइकको नयाँ मूल्य कायम भै नसकेको र करिब २० हजार रुपैयाँ हारहारीमा बढ्न सक्ने अनुमान गरिएको छ ।


Back_to_top