काठमाडौं । सन् २०२० निकै कठिन पूर्णरुपमा रह्यो । वर्षको सुरुवातदेखि नै कोभिड १९ को असर देखिएकोले सन् २०२० मा सर्वाधिक चर्चा कोभिड १९ ले पायो । गाडीका शोरुमहरु ६ महिनासम्म पूर्ण रुपले संचालन हुन सकेनन् भने गाडीको विक्री पनि उत्साह जनक रहन सकेन ।
यस्तोमा सन् २०२० को अगष्टबाट भने अटोमोवाइल क्षेत्रमा केहि हलचल सुरु भयो । नेपालीहरुको मुख्य चाडपर्वहरु सुरु भएसँगै गाडीको विक्रीमा केहि उत्साह देखिएको थियो । लामो लकडाउन पछि बजारमा केहि चहलपहल बढाउन कम्पनीहरुले ल्याएको नयाँ मोडलका गाडीले सहयोग गर्यो ।
विभिन्न कम्पनीले ल्याएका ग्राहक केन्द्रित अफर पनि यसवर्ष पहिलेभन्दा बढी ग्राहकमुखी थिए । जसको कारण सेप्टेम्बरदेखि नोभेम्बरसम्म गाडीको विक्री राम्रै भयो । यस्तोमा हामीले नेपालमा सन् २०२० मा धेरै आयात भएका मोडलको बारेमा यहाँ उल्लेख गरेका छौं ।
महिन्द्रा स्कर्पियो सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्ममा ८२२ यूनिट आयत भएको छ । महिन्द्राको आधिकारीक विक्रेता अग्नी ग्रुपले विक्री गर्दै आएको स्कर्पियो नेपाली बजारमा निकै सफल एसयूभी हो ।

त्यसैगरि धेरै आयात हुने सूचीको दोस्रो स्थानमा हुन्डाई क्रेटा परेको छ । हुन्डाई क्रेटाको आयात फिगर नयाँ जेनेरेशन मोडल सहितको हो । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सन् २०२० मा क्रेटा ८०६ यूनिट आयात गरेको छ ।

धेरै आयात हुने सूचीको तेस्रो स्थानमा हुन्डाई ग्राण्ड आई १० परेको छ । कम्पनीले पुरानो ग्राण्ड आई १० यस अवधिमा ३८१ यूनिट आयात गरेको देखिन्छ भने ३९७ यूनिट ग्राण्ड आई १० नियोस आयात गरेको देखिन्छ । समग्रमा दुबै मोडल मिलाएर ग्राण्ड आई १० कुल ७७८ यूनिट आयात भएको छ ।

धेरै आयात भएको अर्को मोडल हो मारुती सुजुकी ब्रेजा । सिजी मोटो कर्पले विक्री गर्दै आएको ब्रेजा नयाँ पेट्रोल इन्जिनमा आएसँगै यसको विक्रीमा निकै बढेको छ । कम्पनीले यस अवधिमा ७५५ यूनिट ब्रेजा नेपाल ल्याएको छ । योसँगै ब्रेजा चौथो धेरै आयात हुने मोडलमा परेको छ । मारुती सुजुकीको ब्रेजापछि धेरै आयात भएको मोडल भने स्वीफ्ट हो ।

सूचीको पाँचौ स्थानमा कियाको एसयूभी सेल्टोस रहेको छ । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङले सन् २०२० मा ५१४ यूनिट सेल्टोस आयात गरेको छ । योसँगै पहिलो पटक कियाको सेल्टोस धेरै आयात हुने गाडीको सूचीमा पर्न सफल भएको छ ।


