काठमाडौं । टीभीएस मोटर्सले अपाचे आरटीआर ३१० को अपडेटेड भर्सन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले अझ एड्भान्स र प्रिमियम फिचरहरू दिएर यसलाई अपडेट गरेको हो ।
कम्पनीले २ लाख ३९ हजार ९०० भारतीय रुपैयाँ सुरुवाती (एक्स शोरुम) मूल्य तोकेर नयाँ अपाचे आरटीआर ३१० बिक्री सुरू गरेको हो । कम्पनीले २०२५ अपाचे आरटीआर ३१० मा लन्च कन्ट्रोल, किलेस इग्निसन, इन्जिन ब्रेकिङ कन्ट्रोल जस्ता एड्भान्स फिचर थपेको छ ।
यसमा दिइएको लन्च कन्ट्रोलले मोटरसाइकलको एसेलेरेसनलाई लस हुन दिँदैन र र्यापिड एसेलेरेसनमा मद्दत गर्छ । त्यस्तै, प्रिमियम मोटरसाइकलमा हुने किलेस इग्निसन अपाचेमा आरटीआरमा दिइएको छ ।
नयाँ अपाचे आरटीआर ३१० मा दिइएको इन्जिन ब्रेकिङ कन्ट्रोलले ‘एग्रेसिभ डाउन सिफ्ट’ गर्दा होस् वा डाउन हिलमा चलाउँदा गति नियन्त्रणमा सहयोग गर्छ ।
यसका अलावा अन्य ठूलो परिमार्जन गरिएको छैन । आपचे आरटीआर ३१० मा धेरै सेग्मेन्ट फर्स्ट फिचरको रूपमा क्रुज कन्ट्रोल, कर्नर एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।
यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिएको छ । यसमा स्मार्टफोनका साथै गोप्रो समेत कनेक्ट गर्न सकिने छ । त्यस्तै, यसमा क्लाइमेट कन्ट्रोल फिचरको प्रयोग गरेको छ । अपाचे आरटीआरको सिट मौषम अनुसार तातो र चिसो बनाउन सकिन्छ ।
टीभीएस ३१० स्ट्रीटमा ३१२ सीसी क्षमता भएको लिक्विड कुल्ड सिंगल सिलिन्डर फोर भल्ब इन्जिन रहेको छ । यो इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध छन् ।

