नयाँ इन्जिनमा आयो पल्सर एन १६०, थपिए हाइटेक फिचर

काठमाडौं । बजाज अटोले पल्सर एन १६० सिरिजमा नयाँ अपडेटेड मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा पल्सरको नयाँ  एन १६० मोटरसाइकलको बिक्री सुरू गरेको हो ।

कम्पनीले पल्सर एन १६० एस र एसएस दुई भेरियन्ट बजारमा ल्याएको छ । जसको मूल्य क्रमशः १ लाख ३३ हजार ५११ भारु र १ लाख ४२ हजार ५८५ भारु (एक्स शोरुम) तोकेको छ ।

फिचरहरू थपिएर बजारमा आएका यी दुई नयाँ भेरियन्टसँगै हाल बिक्रीमा रहेको एन १६० भेरियन्टलाई पनि निरन्तरता दिइरहने कम्पनीले जनाएको छ ।

नयाँ पल्सर एन १६० को सबैभन्दा ठूलो अपडेट यसको इन्जिन हो। यसमा १६४.५ सीसीको सिंगल-सिलिण्डर, आयल कुल्ड, ४ भल्भ, एसओएचसी एफआई इन्जिन दिइएको छ । पुरानोमा भने टुभल्ब, एयर कुल्ड इन्जिन सेटअप रहेको छ ।

मोटरसाइकलमा दिइएको नयाँ इन्जिनले ९५०० आरपीएममा १८.५ एचपी पावर तथा ८००० आरपीएममा १४.५ एनएम टर्क जेनेरेट गर्छ । यसअघि प्रयोग हुँदै आएको २ भल्भ इन्जिनले १६ एचपी पावर र १४.६५ एनएम टर्क उत्पादन गर्छ। नयाँ इन्जिनमा पावर २.५ एचपीले वृद्धि भएको छ भने टर्कमा सामान्य कमी आएको छ। साथै नयाँ भेरियन्टमा मेकानिकल थ्रोटलको स्थानमा इलेक्ट्रोनिक थ्रोटल बडी राइड बाइ वायर प्रयोग गरिएको छ।

मोटरसाइकलमा रोड, रेन, स्पोर्ट र अफरोड गरि चार राइड मोड पाउन सकिन्छ । यसमा केटीएम मोटरसाइकलमा देखिने जस्तै क्रल टेक्नोलोजी पनि समावेश गरिएको छ । यसले कम गतिमा उच्च गियरमा समेत न्यून क्लच प्रयोग गरेर मोटरसाइकल चलाउन सहयोग गर्छ ।

त्यस्तै, मोटरसाइकलको सस्पेन्सन र ब्रेकमा पनि सुधार गरिएको छ । ३३ एमएमको स्थानमा ३७ एमएम यूएसडी फोर्क र ठूलो ३०० एमएम फ्रन्ट डिस्क ब्रेक पाइन्छ ।

यसको टप भेरियन्ट एन १६० एसएसमा भने अतिरिक्त रूपमा ट्रयाक्सन कन्ट्रोल सिस्टम, एड्जस्टेबल ब्रेक र क्लच लिभर तथा नयाँ टीएफटी डिस्प्ले उपलब्ध छ ।

पल्सर सिरिजकै नयाँ फ्ल्यागशिप एसएस भेरियन्टमा कम्पनीले पहिलोपटक ५ इन्च टीएफटी डिस्प्ले दिएको हो । यसमा गुगल म्याप मिररिङ, ब्लुटुथ कनेक्टिभिटी, वाइफाइ कनेक्टिभिटी जस्ता सुविधा उपलब्ध छन् ।

अर्कोतर्फ एस भेरियन्टमा भने ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसनसहितको सामान्य एलसीडी कन्सोल दिइएको छ । थप तीन नयाँ कलर विकल्पमा उपलब्ध भएको एस र एसएस भेरियन्टमा प्रोजेक्टर एलईडी हेडल्याम्प, डीआरएल, गोल्डेन फिनिस फोर्क, नयाँ एलोय ह्वील, एसमा सिंगल च्यानल र एसएसमा डुअल च्यानल एबीएस सिस्टम पाउन सकिन्छ ।


Back_to_top